झापा, पुष २० । दुईजना जग्गाधनी र मोहीबीचको जग्गा विवादलाई लिएर विगत चार दिनदेखि जग्गाधनी पक्षले मालपोत कार्यालय भद्रपुरको सेवा अवरुद्ध गर्दा चर्को आलोचना भएपछि आजदेखि धर्ना नबस्ने भएका छन् ।


गत बुधवारदेखि भूमिसुधार तथा मालपोत कार्यालयमा धर्ना , तालाबन्दी जस्ता कार्यक्रम गरेर बिर्तामोड १ का जग्गाधनीहरु नरबहादुर कार्की , भीमादेवी कार्की पक्षका व्यक्तिहरुले सेवा प्रवाहमा अवरोध गर्दै आएका थिए ।

हिजो प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसंग छलफल भएपछि मालपोत कार्यालयमा धर्ना , विरोध प्रदर्शनजस्ता कार्यक्रम नगर्ने निर्णय गरिएको जग्गाधनी पक्षका सुशील कार्कीले बताए ।

बुधवार र बिहीवार हुलहुज्जत गरी सेवा प्रवाहमा अवरोध गरेपनि शुक्रवार आफूहरुले सेवा प्रदान गरेको मालपोत कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले बताए । मोही जानकी राजवंशीको पक्षमा फैसला हुँदा चित्त नबुझेको खण्डमा आफूले शुरुदेखि नै माथिल्लो कानुनी निकायमा जान जग्गाधनी पक्षलाई सल्लाह दिँदै आएको उनले जानकारी दिए । मालपोत कार्यालयले सो जग्गाको विवाद हेरेका कर्मचारी बेनु सुवेदीलाई त्यस फाँटबाट हटाएको छ ।

यसैबीच हिजो जग्गाधनी पक्षले पत्रकार सम्मेलन गरी नक्कली मोही खडा गरी आफ्‌नो नाममा एकलौटी दर्ता कायम रहेको जग्गा हडप्ने उद्देश्यले गरिएको खरिद–बिक्री तथा बाँडफाँडमा संलग्न दोषीहरू उपर कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्