झापा, पुष २० । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि झापामा ७ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

जनपद , सशस्त्र प्रहरी र उनीहरुका निर्वाचन प्रहरी ( म्यादी प्रहरी) गरी त्यति धेरै सुरक्षाकर्मी परिचालन गरिने भएको हो । नेपाली सेनाको तथ्यांक यसमा समावेश छैन ।

झापामा करिव २२ सय जनपद प्रहरी र जनपद प्रहरीका ४ हजारभन्दा बढी निर्वाचन प्रहरी खटाइने एक प्रहरी अधिकृतले बताए । उनले जनपद प्रहरीले ४ हजारभन्दा बढी निर्वाचन प्रहरीको भर्ना खोल्न लागेको जानकारी दिए । जिल्लामा ८१५ वटा मतदान केन्द्र छन् । एउटा मतदान केन्द्रमा पाँचजनाको दरले निर्वाचन प्रहरी खटाउनु पर्ने भएकाले कम्तीमा ४ हजार ३५ निर्वाचन प्रहरी र करिव २२ सय जनपद प्रहरी परिचालन गरिने उनले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरीतर्फ करिव १६ सय जनशक्ति खटिने भएको छ । सशस्त्र प्रहरीले पनि यस पटक निर्वाचन प्रहरी ( म्यादी प्रहरी ) को भर्ना लिने भएको छ । झापामा सशस्त्र प्रहरीले ४८९ जना निर्वाचन प्रहरीको भर्ना खोल्न लागेको जनाएको छ । गत निर्वाचनको तुलनामा मतदाता र मतदान केन्द्र बृद्धि भएकाले सुरक्षाकर्मी पनि बढाइने ती प्रहरी अधिकृतले जानकारी दिए ।

झापामा ५० हजारभन्दा बढी मतदाता बृद्धि हुँदा ४९ वटा मतदान केन्द्र थप गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता तथा केन्द्र संख्या विवरण अनुसार २०७९ सालको निर्वाचनको तुलनामा झापामा पुरुष २७ हजार ३०२ र महिला २२ हजार ९२४ गरी ५० हजार २२६ जना मतदाता बढेका छन् ।

२०७९ को निर्वाचनमा झापामा कुल मतदाताको संख्या ६ लाख ६३ हजार ३११ रहेको थियो । यो निर्वाचनमा बढेर ७ लाख १३ हजार ५३७ पुगेको हो । त्यस्तै गत निर्वाचनमा ७६६ वटा मतदान केन्द्र रहेकोमा यसपटक ४९ वटा बढेर ८१५ वटा पुगेको छ । मतदान स्थल भने बढाइएको छैन । झापामा २८५ वटा मतदान स्थल रहेका छन् ।

झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ र सबैभन्दा कम क्षेत्र नं ४ मा रहेका छन् । क्षेत्र नं ५ मा ८१ हजार ८१ पुरुष र ८२ हजार २९६ महिला गरी जम्मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन् । त्यसपछि क्षेत्र नं २ मा ७३ हजार ९५० पुरुष र ७३ हजार ५६७ महिला गरी १ लाख ४७ हजार ५२२ जना मतदाता छन् ।

त्यस्तै क्षेत्र नं ३ मा ७१ हजार १७४ पुरुष र ६९ हजार ६८३ महिला गरी १ लाख ४० हजार ८५७ जना मतदाता छन् । त्यस्तै क्षेत्र नं १ मा ६५ हजार ८५८ पुरुष र ६५ हजार २०९ महिला गरी १ लाख ३१ हजार ६७ जना मतदाता छन् भने सबैभन्दा कम क्षेत्र नं ४ मा ६६ हजार २८३ पुरुष र ६४ हजार ४२८ महिला गरी १ लाख ३० हजार ७१२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका ८१५ मतदान केन्द्रलाई सामान्य , संवेदनशील र अति संवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्