झापा, पुष २० । किर्ते नागरिकता प्रकरणमा झापा शिवसताक्षीका बाबुछोरा नै सप्तरीको प्रहरीको हिरासतमा छन् ।

सप्तरी प्रहरीले झापा शिवसताक्षी नगरपालिका ८ बस्ने २३ वर्षीय पप्पु ठाकुर र उनका बुबा राजकुमार ठाकुरलाई हिरासतमा राखी अनुसन्धान अघि बढाएको हो । सरकारी छाप दस्तखत किर्ते गरी नक्कली नेपाली नागरिकता प्रमाणपत्र बनाएको आरोपमा सप्तरी जिल्ला अदालतबाट शुक्रवार ५दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी डम्बर पुरीले बताए । उनले किर्ते नागरिकता प्रकरणमा संलग्न रहेको हुनसक्ने गिरोहका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

गत बिहीवार नक्कली नागरिकतासहित पप्पु ठाकुर बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित शिवम् मिठाइ पसलबाट पक्राउ परेका थिए । पसल संचालकले जिल्ला प्रशासन कार्यालय झापालाई दिएको सूचनाको आधारमा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको नेतृत्वमा खटिएको सादा पोशाकका प्रहरी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले ठाकुरलाई नक्कली नेपाली नागरिकताको प्रमाणपत्रसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्ने पप्पु ठाकुरसंग उनका बुवा राजकुमार ठाकुरको नाम भएको नक्कली नागरिकता फेला परेको थियो । जुन नागरिकतामा ठेगाना सप्तरी गाउँपालिका वडा नं ५ राजगढ उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्