झापा, पुष २० । तीन वर्षअघि २०७९ को निर्वाचनताका अहिलेकै जस्तो चासो थियो– झापा २ मा देवराज घिमिरे कि अग्नि खरेल ?

त्यसबेला टिकटका लागि दुवैजनाले निकै लबिङ गरेका थिए । अन्ततः घिमिरेले झापा २ मा टिकट पाउँदा खरेलले आफ्नो ठाउँ छोडेर झापा १ मा जानु पर्यो । मनले नमानी नमानी झापा १ मा उम्मेद्वार बनेका खरेल कांग्रेसका विश्वप्रकाश शर्मासंग पराजित भए भने झापा २ मा निर्वाचन जित्दै घिमिरेले सभामुख बन्ने सुनौलो अवसर पाए ।
अघिल्लो निर्वाचनमा जस्तै यस पटक पनि दुवैजनाबीच टिकटको प्रतिष्पर्धा चलिरहेको छ । नेकपा एमालेले झापा क्षेत्र नं. २ बाट घिमिरे र खरेलसहित ९ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएको सूची हेर्ने हो भने एक नम्बरमा घिमिरे र दुई नम्बरमा खरेलको नाम रहेको छ । उनीहरुसंगै अमृतलाल राजवंशी, उमानाथ ओली, ज्ञानेन्द्रप्रसाद ओली, एकराज कार्की, प्रेम गिरी, पवित्रा पाठक र पर्वतराज भण्डारीको नाम सिफारिस गरिएको हो । घिमिरे झापा २ मा आफ्नो उम्मेद्वारी दोहोर्याउन चाहन्छन् भने खरेल यसपटक जसरी भएपनि झापा २ को टिकट हत्याउने दाउमा छन् ।
आज बिहान पत्रकारहरुसंग कुरा गर्दै झापा २ मा यसअघि पनि इच्छा व्यक्त गरेका खरेलले भने, ‘म झापा २ बाहेक अर्को क्षेत्रबाट निर्वाचनमा सहभागी हुन्न, पार्टीले पक्कै विवेकपूर्ण निर्णय गर्नेमा आफू ढुक्क छु ।’
अघिल्लो निर्वाचनमा झापा १ मा नेपाली कांग्रेसका नेता शर्मासँग पराजित भएका खरेलले २ नं. क्षेत्रका लागि लविङ गरिरहेका छन् । यस क्षेत्रमा भेटघाटलाई तिब्रता दिएका नेता खरेलको नाम क्षेत्रीय समन्वय कमिटीले जिल्लामा सिफारिस गरेको छ ।
त्यसो त सभामुख घिमिरेले निकै अगाडिदेखि झापा २ मा उम्मेद्वारी दोहोर्याउने गरी तयारी गरिरहेका छन् । फेरि पनि उम्मेदवार बन्नकै लागि उनी बाक्लो गरी झापा २ मा आउने गरेका छन् । दुवैले पहल गरिरहेपनि एकजना जिम्मेवार नेताका अनुसार यस पटक पनि घिमिरेले नै बाजी मार्ने संभावना छ ।



