झापा, पुष २१ । जेनजी आन्दोलनमा बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड वडा न.१सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका वडा न.७ घर भएका ३९ वर्षीय बिरबहादुर दमाई रहेका छन् । उनले आफ्नो डेरामा भदौ २४गते जेनजी आन्दोलनको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको परिसरबाट हराएको मोटरसाइकल लुकाएर राखेका थिए ।

हिजो बिहान इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्दा दमाईले लुकाईछिपाई राखेको अवस्थामा मे७प.( नम्बर नखुलेको ) सुपर स्प्लेन्डर मोटरसाइकल फेला परेको थियो । सो मोटरसाइकल सर्वसाधारणको भएको बताइएको छ । जुन पक्राउ गरी ट्राफिक प्रहरी कार्यालयमा राखिएको थियो ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले ट्राफिक प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए । त्यसक्रममा ट्राफिक भवनमा आगजनी गर्नुका साथै सवारीसाधनमा समेत आगो लगाएका थिए । आगजनीबाट दुईवटा गाडी क्षतिग्रस्त भएका थिए । त्यस्तै सेतो नम्बर प्लेट भएका कार्यालयको ४ वटा , त्यहाँका कर्मचारीहरुको ८ वटा र सर्वसाधारणको मोटरसाइकलसमेत हराएको थियो ।

आगजनीबाट ध्वस्त भएको अवस्थामा तीन वटा सेतो प्लेटका मोटरसाइकल फेला परेका थिए भने ४ वटा निजी मोटरसाइकलमध्ये केही डढेको भेटिएको थियो । बाँकी मोटरसाइकल आन्दोलनकारीहरुले लिएर गएका थिए । ट्राफिक कार्यालयबाट हराएकामध्ये योसहित तीनवटा मोटरसाइकल फेला परेको छ भने ६ वटा मोटरसाइकल अझै गायव नै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्