झापा, पुष २१ । झापा गौरीगञ्जको एक मोबाइल पसलबाट करिव ७ लाख बराबरको सामान चोरी गर्ने एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका वडा नं.३ गौरीगञ्ज चोक बस्ने १९ वर्षीय सुवास (कोच) राजवंशी रहेका छन् । चोरी भएको २४ घण्टा नबित्दै चोरीका सामानसहित कोच पक्राउ परेका हुन् ।
गएराति गौरीगञ्ज ३ गौरीगञ्ज बजारमा रहेको गौरादह ८ जुरोपानी बस्ने इन्द्रकुमार बरालले संचालन गरेको बराल स्टोर मोवाइल पसलबाट विभिन्न सामान चोरी भएको थियो । चेन गेटको ताल्चा ,ढिकमा लगाएको फलामको सिक्री काटेर मोवाइल पसलभित्र रहेका सामानहरु चोरी भएको थियो । घटनाबारे बिहान खबर पाएपछि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा प्रहरी टोली खटिएर थप अनुसन्धान तथा खोजतलास शुरु गरेको थियो ।
यसक्रममा आज दिउँसो ४;२० बजे मोवाइल पसलमा चोरी गर्ने कोचलाई चोरिएका सामानसहित घरबाटै पक्राउ गरिएको हो । उनको घरबाट एन्ड्रोइड मोवाइल ६ थान,ड्रोन १ थान,मोवाइल चार्जर ३ थान,हेडफोन १ थान ,इयरफोन ३ थान र मुखमा लगाउने मुकुट बरामद भएको थियो ।
अनुहारमा मुकुट लगाएर उनी चोरी गर्न गएका थिए । अनुहार छोपेपनि सीसीटिभी फुटेजको आधारमा उनको पहिचान खुलेको थियो । कोचलाई नियन्त्रणमा लिई इप्रका गौरीगञ्जमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



