झापा,पुष २१ । उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–७, होक्सेस्थित मदन भण्डारी लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।

मदन भण्डारी लोकमार्गमा होक्सेबाट चुहाडेतर्फ आउँदै गरेको स. १ त. २८२५ नं. को ट्रयाक्टर (सिमेन्ट घोल्ने मिक्सर मेसिन जडान भएको) ओरालोमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्रयाक्टरमा सवार दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका त्रियुगा नगरपालिका–६, जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही वडाको मोहनपुरका २६ वर्षीया आशा सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइतेहरू त्रियुगा नगरपालिका–६, मोहनपुर बस्ने वर्ष ४० की समिद्रा सदाको विराटनगरस्थित न्युरो अस्पताल र वडा नं ६ जलजले बस्ने वर्ष ४५ का शम्भु सदाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको दोङले जानकारी दिए । दुर्घटनापश्चात् ट्रयाक्टर चालक त्रियुगा नगरपालिका–६, बगरटोल बस्ने वर्ष ३० का बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार भएका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्