झापा, पुष २१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) झापा शाखाले यही पुष २४ गते बिर्तामोडमा आफ्नो ३५औँ स्थापना दिवस भव्य रूपमा मनाउने भएको छ।

बिर्तामोडको सिटी सेन्टरमा जिल्ला स्तरीय सांस्कृतिक कार्यक्रमसहित स्थापना दिवस मनाउन लागेको प्याव्सन झापाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार यस वर्षको स्थापना दिवसको मुख्य आकर्षण गायन तथा नृत्य प्रतियोगिता रहनेछ। कार्यक्रममा जिल्लाका १४ वटै पालिकाबाट विद्यार्थीहरूको सहभागिता रहनेछ।

सांस्कृतिक प्रतियोगिताअन्तर्गत सामूहिक नृत्य, सांस्कृतिक नृत्य, शास्त्रीय नृत्य तथा गायन समावेश छन्। गायनतर्फ १२ वर्ष मुनि , १२ वर्ष माथि साथै कक्षा ११ र १२ का विद्यार्थीका लागि विशेष गायन प्रतिस्पर्धा राखिएको छ। पालिकाहरुबाट छनोट भएका विद्यार्थीहरुले सो जिल्ला स्तरीय कार्यक्रममा भाग लिने भएका छन् । पालिकास्तरबाट छनोट भई गायन प्रतियोगितामा ४२ जना, शास्त्रीय नृत्यमा १४ जना र सांस्कृतिक नृत्यमा २१० जना विद्यार्थी सहभागी हुनेछन्। पालिका स्तरीय कार्यक्रममा झापाका ४ हजार २२७ विद्यार्थीहरुले भाग लिएका थिए ।

त्यस अवसरमा सम्मान कार्यक्रमसमेत राखिएको छ । योगदान तथा विशिष्टताका आधारमा संस्थापक प्रिन्सिपलतर्फ विराटज्योति अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोडका गणेशप्रसाद ओली, देवकुल अंग्रेजी माध्यमिक विद्यालय बिर्तामोडका धरणीरस मैनाली र रूपरत्न अंग्रेजी माध्यमिक विद्यालय अर्जुनधाराका प्रभुकुमार श्रेष्ठलाई सम्मान गरिनेछ । त्यस्तै, मरणोपरान्त संस्थापक सम्मानबाट टावर टेम्पल अंग्रेजी विद्यालय बिर्तामोडका संस्थापक प्रिन्सिपल स्व.नरेशमान धिमाललाई सम्मान गरिनेछ ।

अविच्छिन्न रूपमा कार्यरत शिक्षकका रूपमा हरिकुल नमुना माध्यमिक विद्यालय कनकाईका मुक्ति दाहाललाई पुरस्कृत गरिनेछ । यसैगरी उत्कृष्ट पालिका सम्मानतर्फ प्याब्सन अर्जुनधारालाई तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना सञ्चारकर्मीलाई पनि सम्मान गरिने प्याव्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले बताए ।

एसईई परीक्षा २०८१ मा ४ जि.पी.ए. प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रशंसापत्रसहित सम्मान गरिनेछ । सम्मानित हुने विद्यार्थीहरूमा प्रज्ञा एकेडेमी भद्रपुरकी मिनकुमारी दास, नेशनल मेरीगोल्ड स्कूल भद्रपुरका प्रनिल सत्याल, बाल्मिकी एजुकेशन फाउण्डेशन बिर्तामोडका हृदयप्रसाद शिवाकोटी र अंकित कटुवाल, माउन्ट एभरेष्ट विद्यालय गौरादहका अर्पण रोय र जेनिस कोइराला, इमिनेन्ट कञ्चनजंघा स्कूल, गौरादहका कुशल लिम्बू, हेमन्त राजवंशी, मुना पाण्डे र रोशिका राजवंशी रहेका छन् ।

त्यसैगरी नमुना अंग्रेजी विद्यालय गौरादहकी सुमेधा कोइराला र अलिसा सापकोटा, पारिजात अंग्रेजी माध्यमिक विद्यालयकी नम्सा लिम्बू थलाङ, ज्ञानकुञ्ज एकेडेमीका सागर राउत तथा ज्ञानोदय आवासीय माध्यमिक विद्यालय, गौरीगञ्जकी सलिना कार्कीलाई पनि सम्मान गरिने प्याब्सन झापाले जनाएको छ ।

प्याब्सन झापाका अध्यक्ष कार्कीले कक्षा ११ र १२ का विद्यार्थीले प्रस्तुत गर्ने गायन तथा १२ वर्षमुनि र १२ वर्षमाथिका प्रतियोगीहरूको प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण हुने बताए ।

पत्रकार सम्मेलनमा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले प्याब्सन झापाले वार्षिक क्यालेन्डरअनुसार जिल्लाभर विविध कार्यक्रम गर्दै आएको र सोही तालिकाअनुसार ‘प्याब्सन डे’ मनाउन लागिएको बताए । उनका अनुसार पालिकागत सांस्कृतिक कार्यक्रम मंसिर २२ गते गौरीगञ्ज गाउँपालिकाबाट सुरु भई पुष ६ गते दमक नगरपालिकामा सम्पन्न भएको थियो । सबै पालिकाबाट प्रथम स्थान हासिल गर्ने, कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराई पुरस्कृत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

प्याब्सन झापाका सचिव लक्ष्मी उप्रेतीले १४ वटा पालिकामा यसअघि सञ्चालन गरिएको पालिका स्तरीय कार्यक्रममा पाँच विधामा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको र त्यसमा उत्कृष्ट भएका विद्यार्थीले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिए । विभिन्न जातजाति, धर्म, संस्कार, भेषभूषा झल्कने सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य तथा गायन विधामा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेको उनले बताए । उप्रेतीका अनुसार पालिका स्तरीय प्रतियोगितामा ४ हजार २२७ जना विद्यार्थीले मञ्चमा प्रतिभा प्रदर्शन गरेका थिए ।

जिल्ला स्तरीय कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी लिएको बिर्तामोड नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेलले कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिए ।

कार्यक्रमका लागि अलस्का अटोमोबाइल्स प्रा.लि. मुख्य प्रायोजक रहेको छ । कंगारु एजुकेशन फाउण्डेशन, बीएण्डसी अस्पताल तथा विभिन्न पब्लिकेशनहरुका तर्फबाट पनि सहयोग रहने खरेलले जानकारी दिए । कार्यक्रम सम्पन्न गर्न सात लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । मुख्य प्रायोजक अलस्का अटोमोबाइल्स प्रा.लि.को तर्फबाट सञ्जीव ओलीले सहमतिपत्रमा हस्ताक्षर भइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्