झापा, पुष २२ । नेकपा एमालेले आसन्न निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ ।

संसद् पुनर्स्थापनाको मुद्दालाई प्रमुखताका साथ उठाएको एमाले अरु दलभन्दा अघि बढेर घोषणापत्र मस्यौदा लेखन र निर्वाचन परिचालन कमिटीसमेत बनाएर निर्वाचनमा होमिएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले औपचारिक रुपमा निर्वाचनमा जाने निर्णय गरेको हो ।
सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरु ईश्वर पाखेरल, प्रदीप ज्ञवाली र सदस्यसचिव विष्णु रिमाल रहेको चुनाव घोषणापत्र मस्यौदा समिति बनाएको छ ।
त्यस्तै, निर्वाचनमा परिचालन कमिटीको संयोजकत्वमा उपाध्यक्ष रामबहादुर थापा र सदस्यहरुमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी छन् ।

एमालेले निर्वाचन अभियान सञ्चालनका लागि प्रदेश इन्चार्ज तोकेको छ । कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इन्चार्ज तोकिएको छ । बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ ।त्यस्तै, ७७ जिल्लामा भूगोल केन्द्रित रहेर केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्