झापा, पुष २२ । कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन गर्ने क्रममा झापाका एकराज कार्कीले छोड्न लागेको खानेपानी , सिंचाई तथा ऊर्जा मन्त्रालय झापाकै चिन्तन पाठकले पाउने भएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले र कांग्रेसबाट सबै पुराना मन्त्रीलाई बिदा गरेर नयाँ टोली ल्याउने तयारी गरेका छन् । एमालेबाट विदुर लिङ्थेप, निरन राई, इन्द्रमणि पराजुली, तिलचन पाठक, ज्ञानेन्द्र सुवेदी र रामप्रसाद महतो मन्त्री बन्दैछन् । झापा क्षेत्र नं २ का पाठकलाई खानेपानी, सिंचाई तथा ऊर्जा , धनकुटाका पराजुलीलाई आन्तरिक मामिला, संखुवासभाका लिङ्थेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ । सुनसरीका रामप्रसाद महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
कांग्रेसबाट प्रदीप सुनुवारको नेतृत्वमा नयाँ टोली सरकारमा सहभागी हुँदैछ । संस्थापन पक्षबाट सुनुवार र इसराइल मन्सुरी, कृष्ण सिटौला पक्षबाट भीम पराजुली तथा शेखर कोइराला पक्षबाट मानबहादुर लिम्बू मन्त्री बन्दै छन् । स्रोतका अनुसार सुनुवारलाई भौतिक पूर्वाधार, पराजुलीलाई पर्यटन, लिम्बूलाई स्वास्थ्य र मन्सुरीलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी टुंगो लागको हो । कांग्रेसकी सचेतक शोभा चेम्जोङ राज्यमन्त्री बन्दैछन् ।
सत्ता साझेदार एमाले र कांग्रेसबीच मन्त्री फेरबदल गर्ने सहमति जुटेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री हेरफेर गर्न लागेका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ आज अपराह्न साढे ४ बजे हुँदैछ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मन्त्रीहरूलाई शपथ गराउँदैछन् ।



