झापा, पुष २२ । ठूलो परिमाणमा लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडमा एक कारोबारी पक्राउ परेका छन् ।

आज दिउँसो १.३० बजे बिर्तामोड वडा नं १ सूर्यनगर टोल काली मन्दिर बस्ने ४० वर्षीय अजय राजवंशी ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका हुन् । राजवंशीको घर कोठामा लागूऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा राजवंशीको साथबाट र घरभित्र लुकाई छिपाई राखेको प्लास्टिकसहित १३१ ग्राम ३६० मिलिग्राम र प्लास्टिकबाहेक १२३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै नेपाली नोट २ लाख ६७ हजार,भारतीय नोट रु.२९ हजार ५०० ,डिजिटल तराजु थान–१, कैँची थान–१, चक्कु थान–१, मोबाईल थान–२ समेत फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।

बिर्तामोडमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउनसुगर फेला परेको जनाइएको छ । राजवंशीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्