कुमरखोद, पुष २२ । मधेस प्रदेशमा मस्जिद भत्काएको विषयमा साम्प्रदायिक तनाव बढेको बेला झापामा पनि मस्जिदकै विषयमा विवाद निम्तिन खोजेको छ ।

मस्जिद निर्माण गर्न खोजिएको ठाउँ

यसअघि पनि सामाजिक सद्भाव विथोल्न खोज्दा एकापसमा मिलाइएको दक्षिणी सीमावर्ती झापा गाउँपालिकामा मस्जिद निर्माणको विषयलाई लिएर विवाद निम्तिन खोजेको हो ।

झापा गाउँपालिकाका एक व्यक्तिले मस्जिद निर्माणका लागि जग्गा दान दिने भएपछि विवाद उत्पन्न भएको हो । झापा गाउँपालिका वडा नं ४ बस्ने नजरुल शेखले डिल्लीराज माध्यमिक विद्यालयनजिकै हुलाकी राजमार्गसँग जोडिएको दक्षिणी भागमा मस्जिदका लागि जग्गा दिने भएका हुन् । उनले आफूले किनेको १ कठ्ठामध्ये आधा जमिन मस्जिदका लागि दान दिने बताइएको छ । तर, हिन्दु समुदायका व्यक्तिहरुले त्यस ठाउँमा मस्जिद बनाउन नदिने भएका छन् । गत आइतवार झापा बजारमा रहेको दुर्गा मन्दिरमा हिन्दु समुदायका व्यक्तिहरुको बैठक बसी त्यहाँ कुनै पनि हालतमा मस्जिद बनाउन नदिने निर्णय गरेका छन् ।

स्थानीय अगुवा विरेन्द्रकुमार गणेशले त्यहाँ मस्जिद बनाउन नदिने बताए । ‘उनीहरुको आफ्‌नो समुदायमा गएर मस्जिद , मदरसा बनाओस् हामीलाई कुनै आपति छैन’ उनले भने ,‘यहाँ न त उनीहरुको समुदाय छ न कसैको घर नै ।’ उनले धर्मको नाममा मस्जिद बनाउने भनेर विवाद उत्पन्न गर्न खोजेको आरोप लगाए ।

मस्जिद बनाउन नदिने भनेर स्थानीयहरु गत साता वडा नं ४ को वडा कार्यालयमा डेलिकेशन गएका थिए । वडा अध्यक्ष ताहिर मुल्वीले मस्जिद निर्माणको विषयलाई लिएर विवाद नगर्न अनुरोध गरेका थिए । उनले विवादित भएको ठाउँमा मस्जिद नबन्ने र बनाउन पनि नहुने बताउँदै जग्गादातासँग भेटेर यो विषयमा छलफल गर्ने आश्वासन दिएका थिए ।

विश्व हिन्दु परिषद झापा गाउँपालिका जनसम्पर्क प्रमुख भीम घाेर्सानेले हिन्दु समुदायको ठाउँमा मस्जिद नबनाउन आग्रह गरेका छन् । उनले यदि बलजफ्‌ती गरी मस्जिद बनाए अप्रिय घटना हुनसक्ने चेतावनी दिएका छन् । यहि विषयलाई लिएर विश्व हिन्दु परिषद नेपालले झापा गाउँपालिकासँग समन्वय गरिरहेको विरेन्द्रकुमार गणेशले बताए । उनले केहि दिनभित्रमा नै संघर्ष समिति बनाउने जानकारी दिएका छन् ।

धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडका विषयमा मधेस प्रदेशमा तनाव जारी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्