झापा, पुष २३ । झापाको बुद्धशान्तिमा मृत भेटिएको हात्तीको सुँडमा आलो चोट देखिएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षण सुनसरीबाट पशु चिकित्सक डा. प्रिती गुरुङको कमाण्डमा ४जनाको टोली आएर हेर्दा मृत हात्तीको सुँडमा आलो चोट,अगाडिको बायाँ खुट्टा र पेटमा पुरानो घाउ देखिएको थियो । सो टोलीले सम्पूर्ण कानुनी प्रकृया पुरा गरी मृत हात्तीको पोस्टमार्टमपश्चात् सोही स्थानमा खाल्डो खनेर पुरेको थियो ।

पोस्टमार्टमको रिपोर्ट केही दिनपछि आउने डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गोहियारी यादवले बताए । उनले पोस्टमार्टमको रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने जानकारी दिए ।

हिजो बिहान बुद्धशान्ति ३ डाँडागाउँ बस्ने लालबहादुर रसाईलीको खेतमा भाले हात्ती मृत फेला परेको थियो । चन्द्रगढी क्षेत्रमा घुमिहिड्ने दारा नभएको सो माकुने हात्ती विरामी रहेको थियो । वन कार्यालयको टोलीले केही महिनाअघि सो हात्तीलाई उपचार गरेको थियो । यो आर्थिक वर्षमा झापामा दुईवटा हात्ती मृत फेला परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्