झापा, पुष २३ । कोशी प्रदेश सरकारमा झापाका सांसदहरु भाग्यमानी सावित भएका छन् ।

सरकार परिवर्तन र मन्त्रिमण्डल फेरबदलको गोलचक्करबाट कोशी प्रदेश सरकारमा अहिलेसम्म झापाका दुईजना मुख्यमन्त्री,एकजना सभामुख र चारजना मन्त्री बन्न सफल भएका हुन् । बाँकी दुई वर्षको कार्यकालमा अरुले पनि पालैपालो गरी मन्त्री बन्ने आशा राखेका छन् ।

झापाका हिक्मतकुमार कार्कीले तीनपटक मुख्यमन्त्री बन्दै ह्याट्रिक पूरा गरेका छन् भने दुईपटक मुख्यमन्त्री बन्ने रेकर्ड झापाकै उद्धव थापाको नाममा रहेको छ । त्यस्तै झापाकै अम्बरबहादुर विष्ट सभामुख छन् । हिजो कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन गर्ने क्रममा झापाका एकराज कार्कीले छोडेको खानेपानी , सिंचाई तथा ऊर्जा मन्त्रालय झापाकै चिन्तन पाठकले पाएका छन् । खानेपानी मन्त्रालयमाथि लगातार झापाका सांसदहरुको कब्जा गर्दै आएका छन् । एकराज र चिन्तनअगाडि झापाका भक्तिप्रसाद सिटौला मन्त्री बनेका थिए । त्यस्तै राज्यमन्त्री बनेका झापाकै भूमिप्रसाद राजवंशीले हिजो मन्त्री पद छोडेका छन् ।

२०७९ सालको निर्वाचनमा झापाको दशवटा प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित १० जना प्रदेश सांसदमध्ये पाँचजना मन्त्री बनिसकेका छन् । प्रत्यक्षतर्फ निर्वाचित गोपाल तामाङ , सविना बजगाँई , छविलाल चुडाल , राधाकृष्ण खनाल र होमबहादुर थापा मात्र मन्त्री हुन बाँकी रहेका छन् । उनीहरुले पनि पालो पर्खिरहेका छन् । मन्त्री बन्ने आफ्‌नो पालो आइसक्दा पनि राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले दुईवटा मन्त्रालय आफूसंगै राखेर आफूलाई मन्त्री बन्नबाट बञ्चित गरेको राप्रपाकी प्रदेश सांसद सविना बजगाईले गुनासो गरिन् । उनी राप्रपाकी कोशी प्रदेश प्रमुख सचेतक हुन् । त्यस्तै गोपाल तामाङ कांग्रेसको कोशी प्रदेश प्रमुख सचेतक हुन् ।

समानुपातिकमा झापाबाट ६ जना प्रदेश सांसद बनेका छन् । समानुपातिक सांसदहरु उद्धव थापाले मुख्यमन्त्री र अम्बरबहादुर विष्टले सभामुख बन्ने मौका पाए । त्यसबाहेक अब निमसरी राजवंशी , लख्खी गणेश , गोपाल गजमेर , कमला थापा मगर र नम्बरलाल धिमालको मन्त्री बन्ने रहर पूरा हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्