झापा, पुष २३ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट एमाले अध्यक्ष केपी ओली उठ्ने चर्चा गरेका पार्टीका कार्यकर्ताहरुले सोध्दै नसोधी केन्द्रीय सदस्य दीपक कार्कीको नाम उम्मेदवारमा सिफारिस गरेका छन् ।

झापा क्षेत्र नं ५ बाट उठ्ने गरी एकल सिफारिस भइसकेका ओलीलाई झापा क्षेत्र नं ३ बाट पनि उठाउने क्षेत्रीय कार्यकर्ताहरुले चर्चा गरेका थिए । गत शनिबार बसेको एमालेको ३ नं क्षेत्रीय समन्वय कमिटीको पूर्ण विस्तारित बैठकमा झापा–५ संगै ३ मा पनि अध्यक्ष ओलीकै नाम सिफारिस गर्नुपर्ने विषयमा छलफल भएको थियो । ‘ देशभरिका ३६५ वटै क्षेत्रमा उम्मेद्वार सिफारिस गर्दा अध्यक्ष ओलीको नाम उच्चारण भयो होला ’ क्षेत्रीय सचिव नरेश चुडालले भने,‘ त्यस हिसावले हाम्रो क्षेत्र नं ३ मा पनि छलफल भएको हो ।’
क्षेत्रीय समन्वय कमिटीले केन्द्रीय सदस्य दीपक कार्कीसहित हरिबहादुर राजवंशी , बसन्त बानियाँ , देवेन्द्र आचार्य र सन्तलाल मेचेको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो । एक नम्बरमा कार्कीको नाम राखिएको थियो ।
आफूलाई नसोधिकन क्षेत्रीय कमिटीले आफ्नो नाम सिफारिस गरेको बताउँदै कार्कीले जिल्ला कमिटीको बैठकमा आफ्नो नाम हटाउन लगाएको जानकारी दिए । झापा क्षेत्र नं ५ बाट संविधान सभा सदस्य बनेका कार्कीले क्षेत्र नं ३ मा चुनावमा उठ्ने मुड नभएको स्पष्ट पारे । ‘ मैले विथड्र गरिसकेको छु ’ उनले भने,‘ म क्षेत्र नं ३ मा आइदिए हुन्थ्यो भन्ने कार्यकर्ताहरुलाई लाग्नु स्वाभाविक हो तर, म उठ्दिनँ ।’
गौरादह गाविसका अध्यक्ष , संविधान सभा सदस्यलगायतका पदमा निर्वाचित भएर जनतामाझ लोकप्रिय रहेका कार्कीको पार्टीमा पनि राम्रो पकड रहेको छ । क्षेत्रीय कमिटीले कार्कीसहित पाँचजनाको नाम पठाएकोमा जिल्ला कमिटीले हरिबहादुर राजवंशी र बसन्त बानियाँको नाम मात्र कोशी प्रदेश कमिटीमा पठाएको छ ।



