झापा, पुष २४ । आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनमा झापाका २८५ वटा मतदान स्थलमध्ये ९५ वटा अति संवेदनशील रहेका छन् ।

जिल्लाका २८५ वटा मतदान स्थल र ८१५ वटा मतदान केन्द्रमध्ये ९५ वटा मतदान स्थल अति संवेदनशील , १४७ वटा संवेदनशील र ४३ वटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

मतदान केन्द्रलाई हेर्ने हो भने यसअघि निर्धारित ७६६ वटा मतदान केन्द्रमध्ये २७१ वटा अति संवेदनशील , ३९० वटा संवेदनशील र १०५ वटा सामान्य रहेका छन् । यसमा ४९ वटा मतदान केन्द्र थपिएको छ । जसको वर्गीकरण ननिकालिएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले बताए ।

निर्वाचन सुरक्षाका लागि झापामा चार हजार ७४८ जना निर्वाचन प्रहरी( म्यादी प्रहरी) परिचालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपाल प्रहरीतर्फ चार हजार २५९ र सशस्त्र प्रहरी बलतर्फ ४८९ जना परिचालन गरिनेछन् । भर्ना प्रक्रिया यसै सातादेखि सुरु गरिने उनले जानकारी दिए ।

निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरीसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसमेत परिचालन गरिनेछ । सबै गरी ७ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी झापामा परिचालन हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्