झापा, पुष २४ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि झापामा निर्वाचन प्रहरी( म्यादी प्रहरी) को भर्ना खुलेको छ ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले आज एक सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी, बल नेपालका लागि झापामा ४७९७ जना निर्वाचन प्रहरीको दरबन्दी तोकिएको छ ।
दरखास्त दिने पुष २५ गतेदेखि माघ १गतेसम्म, समय विहान १० देखि वेलुका ४ बजेसम्म तोकिएको छ । दरखास्त फाराम पाउने र बुझाउने स्थानहरु जिल्ला प्रहरी कार्यालय झापा वा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा, झापा तोकिएको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन आवश्यक योग्यता र प्राथमिकताका आधारहरुमा नेपाली नागरिक भएको ,१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको , साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,भर्ना हुने समयमा कुनै राजनैतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाई ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इन्च उचाई र ४२ के.जी. भएको, महिलाको हकमा गर्भवती नभएको/नरहेको तोकिएको छ ।





