झापा, पुष २७ । पाँच वर्षअघि शिलान्यास गरी निर्माण थालिएको बिर्तामोडको नागरिक अस्पताल आगामी बैशाख महिनाबाट संचालन हुने भएको छ ।

अस्पताल भवनको भुइँतला चैत्र मसान्तभित्रमा निर्माण सम्पन्न गरी २०८३ बैशाख महिनाबाट अस्पतालको सेवा प्रारम्भ गरिने नागरिक स्वास्थ्य सहकारी संस्था लि.का अध्यक्ष युवराज दाहालले बताए ।
सो सहकारी संस्थाद्वारा बिर्तामोड –४ स्थित कञ्चनजंघा टोलमा २०७७ साल पुष १३गते नागरिक अस्पतालको निर्माण शुरु गरिएको थियो । नागरिक स्वास्थ्य सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभामा संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दाहालले कोरोना महामारी र अन्य विविध कारणले समयमै अस्पताल निर्माण सम्पन्न गर्न नसकेको बताउँदै आर्थिक मन्दीका कारण विभिन्न व्यक्ति तथा प्रतिष्ठानहरुले कबोल गरेअनुसारको शेयर रकम संकलन हुन नसक्दा निर्माण कार्य निरन्तर अघि बढ्न नसकेको जानकारी दिए । एकातिर एक पटकमा करोडौको निर्माण सामग्री खरिद गर्नुपर्ने र अर्कोतिर न्यून मात्रामा शेयर रकम संकलन हुने अवस्थाका कारण २०८० साउनबाट २०८० चैत्रसम्म निर्माण कार्य स्थगित गर्नुपरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कोरोना संक्रमणको समयमा कतिपय बिरामीले अस्पतालमा भर्ना हुन नपाउँदा अकालमा ज्यान गुमाउनु परेको पीडाका कारण ‘हाम्रो अस्पताल हामी आफैँ बनाउँछौँ’ भन्ने मुल नाराका साथ सहकारी अभियन्ता स्थानीय कृष्ण पौडेलको परिकल्पनामा शुरु भएको सहकारी संस्थाले अस्पताल सञ्चालनको अन्तिम तयारी गरेको कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
हर्कलाल मार्गको कञ्चनजंघा स्कुल उत्तरमा स्थानीय युवराज दाहाल र नवराज दाहालको आमाको नाममा रहेको जग्गा २५ बर्षका लागि लिजमा लिएर निर्माण शुरु गरिएको अस्पतालको पहिलो तलाको काम ९० प्रतिशत पुरा भएको अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए । अस्पतालका लागि आवश्यक उपकरण खरिद र सेटअफ बाँकी रहेको उनले बताए । तीन तलाको रहने अस्पताल भवन ४ कठ्ठा क्षेत्रफलमा फैलिएको छ भने अन्य खाली जमिन समेत गरी अस्पतालले ११ कठ्ठा क्षेत्रफल प्रयोगमा ल्याउने छ । सो अस्पताललाई सय शैय्याको बनाउने लक्ष्य राखिएको छ ।

सहकारीमा विभिन्न विशेषज्ञ डाक्टरहरुसमेत सदस्य रहेकाले अस्पतालको सेवा सुलभ र स्तरीय हुने बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारीले स–सानो पुँजी लगानी गरेर धेरै मानिसहरुले सञ्चालन गरिने सहकारी अस्पताल सुलभ मूल्यमा स्तरीय सेवा दिन सकिने अनुभव रहेको सुनाए । एकै व्यक्तिले ठूलो लगानी गर्नुको सट्टा धेरै मानिसहरुलाई आबद्ध गराई सानो सानो पुँजी लगानी गर्दा धेरै मानिसहरुको अपनत्व हुने भएकाले अस्पताल सञ्चालन गर्न सहज हुने अधिकारीले बताए । उनले आफूसँग सोही क्षेत्रमा भएको १७ बर्षको अनुभवका आधारमा नागरिक अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका अतिथि नेपाल सरकारका पूर्व सचिव डा. टंक बाराकोटीले सहकारी अस्पतालले सस्तो मूल्यमा स्तरीय सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरे । त्यस्तै अर्का अतिथि नेपाल सरकारका पूर्व उपसचिव डा. मुक्ति खनालले सहकारीहरुमा पछिल्लो घटनाक्रमले सञ्चालन चुनौती रहेको, स्वास्थ्य क्षेत्रमा विभिन्न विकृति रहेको र बजार प्रतिष्पर्धी रहेको भन्दै नागरिक स्वास्थ्य सहकारीले ती सबै चुनौती पार गर्दै उद्धेश्य पूरा गर्न सक्ने विश्वास व्यक्त गरे ।
समाजसेवी तथा व्यवसायी राजकुमार पोखरेलले बिर्तामोडका व्यवसायीहरु एकजुट हुने हो भने अस्पतालमा सस्तो मूल्यमा गुणस्तरीय सेवा प्रवाह गर्न सकिने धारणा राखे । उनले सबै स्थानीयहरुलाई सहकारीको सदस्य बन्न आग्रह गर्दै नागरिक अस्पताललाई आफ्नो अस्पतालको रुपमा अपनत्व ग्रहण गर्न आग्रह गरे । शुभकामना मन्तव्यको क्रममा सहकारी संस्थाका संस्थापक अध्यक्ष बलराम कार्कीले बिर्तामोडलाई अस्पतालको हबको रुपमा विकास गर्न, मध्यम र न्यून वर्गीय विरामीहरुको बाँच्न पाउने हकको सम्मान गर्दै अस्पताल सञ्चालनका लागि लागिपरेको बताए ।
संस्थाका अध्यक्ष युवराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव रविन्द्र भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई कोषाध्यक्ष जीवनकुमार खड्काले स्वागत गरेका थिए । खुल्न लागेको नागरिक अस्पताल बिर्तामोडको १७ औं अस्पताल हुनेछ । स्वास्थ्यको हव मानिने बिर्तामोडमा एक मेडिकल कलेज, एक सरकारी अस्पताल र १५ वटा निजी अस्पताल संचालनमा रहेका छन् । बिर्तामोडमै अर्को एउटा अस्पताल संचालन गर्ने तयारी गरिएको बुझिएको छ ।



