झापा, पुष २७ । संस्थापन पक्षको असहमतिकाबीच आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन शुरु हुँदैछ ।

आज र भोलि काठमाण्डौको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन लागेको हो । विशेष महाधिवेशनको आज दिउँसो एक बजे उद्घाटन कार्यक्रम रहेको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा ६ हजारभन्दा धेरै अट्ने गरी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए ।
मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । उद्घाटन कार्यक्रम अघि काठमाण्डौका विभिन्न ठाउँमा र्याली गर्ने तयारी छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाण्डौका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ ।
देशभरबाट विशेष महाधिवेशनमा भाग लिन कतिपय प्रतिनिधि आइसकेको र केही आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाण्डौका विभिन्न ठाउँमा ३ हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए।
यसैगरी महाधिवेशन प्रतिनिधिका लागि आयोजनास्थलमै खाना र नास्ताको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले एक हजार शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने व्यवस्था छ ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने अहिलेसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन् ।
नियमित महाधिवेशन तोकिसकेकाले विशेष महाधिवेशनको औचित्य नरहेको संस्थापन पक्षले जनाएको छ ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको नयाँ मिति आउँदो वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरेको थियो ।



