झापा, पुष २८ । करिव सात महिनाअघि ४३ जना लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेको मेचीनगरको कालिका सिमसारबाट प्रहरीले फेरि ९जनालाई नियन्त्रणमा लिएको छ ।

हिजो साँझ ७ बजेतिर मेचीनगर –११ स्थित कालिका सिमसारमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रकुमार राउतको कमाण्डमा ७जना र सशस्त्र प्रहरी बेस क्याम्प टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठको कमाण्डमा ७ जनाको संयुक्त टोली खटिएको थियो । सो टोलीले मेचीनगर –७ बस्ने बर्ष २६का बिमल मेचे र मेचीनगर ११बस्ने बर्ष २३का प्रबिन राईलाई शंका लागेर चेकजाँच गर्दा मेचेको साथबाट प्लाष्टिकसहित ४ग्राम८१०मिलिग्राम र प्लाष्टिकबाहेक४ग्राम४५०मिलिग्राम ब्राउनसुगर , ३० हजार नगद र राईको साथबाट ७ हजार ५०० रुपैयाँ फेला परेको थियो ।
उनीहरुसंगै रहेका अन्य ७ जनालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर ८बस्ने बर्ष२० का कविस मेचे ,वडानं.११बस्ने बर्ष२८का बासु राजवंशी , वडा न. ११बस्ने बर्ष३४का सुरेस खड्का ,बुद्धशान्ति वडा नं.४बर्ने बस्ने बर्ष ३५का कुमार गुरुङ ,बुद्धशान्ति वडा नं.३बस्ने बर्ष२५का सन्दिप रसाईली , मेचीनगर १० टिकापुर बस्ने बर्ष३०का घनश्याम माझी र बुद्धशान्ति वडा नं.४बस्ने बर्ष ३८का राजेन्द्रकुमार थापा रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । यसअघि गत जेठ १३ गते कालिका सिमसारमा लागूऔषध खरिद बिक्री गर्दै गर्दा ४३ जना पक्राउ परेका थिए ।



