झापा, पुष २८ । बैतडी जिल्लाको पाटन नगरपालिका–८ जयपृथ्वी राजमार्गअन्तर्गत विजयपुरनजिक झौलेकमा आज बिहान भएको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिगास गाउँपालिका–१ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै र सिगास गाउँपालिका–१ की २७ वर्षीया वसन्ती ऐरको जिल्ला अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
जिपमा सवार अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था चिन्ताजनक र बाँकी सामान्य रहेको उनले बताए । घाइते हुनेहरुमा सिगास गाउँपालिका–१ की १९ वर्षीया विमला ऐर, सोही ठाउँकी अन्दाजी ४ वर्षीया प्रन्सा ऐर, सोही ठाउँका गाडी चालक २८ वर्षीय गणेश विष्ट र २५ वर्षीय लालमणी बोहरा रहेका छन् ।
यस्तै पाटन नगरपालिका–८ की २५ वर्षीया कमला विष्ट र डडेल्धुराको आलीताल गाउँपालिका–३ बस्ने ३२ वर्षीय वीरेन्द्र बोहरा घाइते भएका छन् । घाइते सबैको डडेल्धुरा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बैतडीको सुर्नया गाउँपालिका–६ मोतीनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेर जिप दुर्घटना भएको हो । जिप अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



