झापा, पुष २८ । राजवंशी समुदायका दुईवटा समूहबीचको निरन्तर विवादको प्रत्यक्ष असर भाक्का दिवसमा परेको छ ।

जातीय परिकार भाक्कालाई प्रवर्द्धन गर्न विगत ९ वर्षदेखि आदिवासी राजवंशीहरुले राष्ट्रिय भाक्का दिवस मनाउँदै आएकोमा राजवंशी समाज विकास समितिको आधिकारिकताको विवादले भाक्का दिवस प्रभावित भएको हो ।
विगत चार वर्षदेखि राजवंशी समाज विकास समितिको नाममा दुईवटा समानान्तर समिति क्रियाशील रहेका छन् । आफू– आफूलाई आधिकारिक मान्दै दुवै समूह एक अर्काको विरुद्धमा खरो रुपमा उत्रिदै आएका छन् । मोरङका सुवन्त राजवंशी नेतृत्वको एउटा समूह र झापाका अभय राजवंशी नेतृत्वको अर्को समूहकै कारण राजवंशीहरुबीच एकता र मेलमिलाप घट्नुका साथै विभाजित देखिएका छन् ।
शुरुवात ताका कोचिला गाभुर फ्रन्टको व्यानरमा भाक्का दिवस मनाउन शुरु गरेका अभय राजवंशीले पछिल्लो केही वर्षदेखि राजवंशी समाज विकास समितिको व्यानरमा पुष २९ गते सो दिवस मनाउँदै आएका छन् । विगतका वर्षहरुझै यस वर्ष पनि उनले बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा नवौ राष्ट्रिय भाक्का दिवस आयोजना गरिरहँदा अर्को समितिले राजवंशी समाज विकास समितिको नाममा कार्यक्रम नगर्न चेतावनी दिएको छ । भर्खरै झापा जिल्ला अदालतले आफूहरुको समितिलाई आधिकारिकता प्रदान गरेकाले राजवंशी समाज विकास समितिको नाममा अनाधिकृत रुपमा कार्यक्रम नगर्न आग्रह गरिएको सुवन्त नेतृत्व समितिका जिल्ला अध्यक्ष उत्तम राजवंशीले बताए ।
सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले जिल्ला प्रशासन कार्यालयले अनाधिकृत रुपमा भाक्का दिवस नमनाउन अभय राजवंशीको समितिलाई आदेश दिएको बताउँदै कानुन हातमा लिएर कार्यक्रम गर्नु उचित नहुने चेतावनी दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र बिर्तामोड नगरपालिकाको ३ नं वडा कार्यालयले समेत कार्यक्रम रद्ध गर्न आदेश दिएको जानकारी दिए । जिल्ला समिति मोरङका सचिव रुपेश राजवंशीले कोचिला गाभुर फ्रन्टकै व्यानरमा भाक्का दिवस मनाउँदा आफूहरुलाई आपत्ति नहुने बताए ।
उता अभय राजवंशीले आफूहरुको कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको जनाउँदै भाक्का दिवस गरेरै छाड्ने प्रतिक्रिया दिएका छन् । राजवंशी समाज विकास समितिको आधिकारितामाथि दावी गर्दै आएका उनले विगतको भन्दा अझ भव्य रुपले कार्यक्रम गर्न लागेको जानकारी दिए । संस्थाको आधिकारिकता विवादसंगै दुईवटा समानान्तर समितिले भाक्का दिवसको गरिमामाथि समेत प्रहार गर्नु समुदायको अस्तित्वको लागि चिन्ताको विषय भएको बिर्तामोडका राम राजवंशी बताउँछन् ।



