झापा, पुष २९ । कानुनी रुपमा मोहियानी हक पाइसकेको अबस्थामा शक्तिको बलमा थुनामा राखिएकी झापा बिर्तामोड १ की वयोबृद्धा जानकी राजवंशीलाई जमानतमा रिहा गरिएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालयबाट कानुनी प्रक्रिया अनुसार मोहियानी हक पाएकी एकल महिला ७५ वर्षीया जानकी राजवंशीलाई जग्गाधनीले प्रहरी प्रशासनलाई दबाब दिएर थुनाएका थिए । उपसभामुख इन्दिरा राना मगरको सहजीकरणमा हिजो प्रहरी कार्यालयबाट उनलाई जमानतमा रिहा गरिएको हो । उनका भतिजा रामबहादुर राजवंशी भने थुनामै रहेका छन् ।

२०३७ सालदेखि जग्गा कमाएको मोहीको सम्पूर्ण प्रमाण भएपछि गत महिना भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले विपन्न जानकी राजवंशीलाई एक विगाह मोहियानी हक दिलाएका थिए । त्यस निर्णयको विरुद्धमा जग्गाधनीले दलबलसहित करिव एक सातासम्म मालपोत कार्यालय धर्ना तथा हुलहुज्जत गरेका थिए । त्यसपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गएर दबाब दिएका थिए ।

अर्धन्यायिक निकायको रुपमा रहेको भूमिसुधार कार्यालयको निर्णयउपर चित्त नबुझेमा माथिल्लो निकायमा जानसक्ने कानुनी बाटो भएको कार्यालय प्रमुख अधिकारीले बताउँदै आएका छन् । तर, जग्गाधनीले दबाब दिएर जानकी र उनका भतिजा रामबहादुरलाई थुनाएका छन् । उपसभामुख राना मगरले सोझा सीधा राजवंशी परिवारमाथि घोर अन्याय भएको बताएकी छन् ।आफूले एकल रहेकी जानकी राजवंशीको लागि निरन्तर रूपमा लागिपरेको उनले जानकारी दिइन् ।

जानकी र उनका भतिजा रामबहादुरविरुद्ध जाहेरी दर्ता भएपछि पक्राउ गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बूले बताए । उनले आवश्यक अनुसन्धान सकेर अदालतसमक्ष बुझाउने जानकारी दिएका छन् । जग्गाधनीले चर्को दबाब दिएर जिल्ला प्रहरी कार्यालयमा राजवंशी परिवारविरुद्ध जाहेरी दर्ता गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्