झापा, पुष २९ । नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह उठ्न लागेको झापा क्षेत्र नं ५ बाट राष्ट्रिय परिवर्तन पार्टीका सविन चाम्लिङ राईले उम्मेद्वारी घोषणा गरेका छन् ।

मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी पार्टीले झापा ५ मा राईले उमेद्वारी दिने घोषणा गरेका हुन् । ३५ वर्षीय राई कमल ५ निवासी हुन् । पार्टीका प्रवक्तासमेत रहेका राई फोटो तथा भिडियोग्राफी व्यवसायमा संलग्न छन् ।

पत्रकार सम्मेलनमा राईले जेनजी पुस्ताको प्रतिनिधिको रुपमा आफूले झापा–५ बाट चुनाव लड्ने बताए । ‘जेनजी आन्दोलनका घाइते, सहिद परिवार र शुभेच्छुकको साझा पार्टीका रूपमा राष्ट्रिय परिवर्तन पार्टी उदाएको छ’ राईले भने ।चुनाव चिन्ह बाँसुरी लिएर अगाडि बढेको परिवर्तन पार्टीले संक्षिप्त घोषणापत्र जारी गर्दै राष्ट्रिय सातवटा मुद्दामा आफ्नो धारणा पनि सार्वजनिक गरेको छ ।

आर्थिक उन्नतिका चार क्षेत्र जलविद्युत्, पर्यटन, कृषि र खनिज भएकाले यी क्षेत्रको योजनाबद्ध सुदृढीकरणमा ध्यान दिनुपर्ने पार्टीको धारणा रहेको महासचिव अञ्जु राईले बताइन् ।

जेनजी आन्दोलनका घाइते राजेश पोर्तेल राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष छन् । उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बिर्तामोडमा प्रहरीसंग भएको झडपमा घाइते भएका थिए । उनले एउटा खुट्टा गुमाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्