झापा, माघ १ । जेनजी आन्दोलनपछि स्थान हद फुकुवा भएर पहिलो पटक एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली गृहजिल्ला झापा आउँदैछन् ।

उनी यही माघ ५ गते झापा आउन लागेका हुन् । गत पुष २१ गते ओलीको स्थान हद फुकुवा भएको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो । ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछ गर्न उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णय गरिएको थियो ।
करिव चार महिनापछि कार्यकर्तासंग भेटघाट गर्न र चुनावी माहौल बनाउन उनी गृहनगर दमक आउन लागेको पार्टी कार्यालयले जनाएको छ । ओलीले झापा ५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् ।माघ ६ गते उम्मेद्वारी दर्ता रहेको छ । उनी त्यसकै लागि आउन लागेको जनाइएको छ ।



