झापा, माघ २ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार बरामद भएको छ ।

आज बिहान दमक १ सुकुम्बासी बस्ती बस्ने डेकबहादुर थापाको घरभित्रबाट एक थान सर्टगन फेला परेको हो । थापाको घरभित्र हतियार लुकाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा प्रहरी टोली खटिएर थापा बस्ने गरेको जस्ताको बेराले बनेको जस्ताको छानो भएको टहराभित्र खानतलासी गरेको थियो ।

त्यसक्रममा बटको भागमा १३२०४४७ नम्बर लेखिएको सर्टगनको बटको भाग थान–१ बेसाबुत हतियारको पार्टपुर्जा सोही टहराको भुइँमा बालुवाले पुरी राखेको अवस्थामा फेला परेको थियो । उक्त हतियार भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटेर लगेको अभिलेखबाट देखिएको छ । उक्त हातहतियारको पार्टपूर्जा कानून बमोजिम बरामद गरी सुरक्षित साथ इप्रका दमकमा राखिएको छ ।

घरधनी थापाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेनजी आन्दोलनमा जिल्लाका प्रहरी कार्यालयहरुबाट लुटिएका १५ थान हतियार अझै गायव नै रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्