झापा, माघ ३ । राजनीतिकरणका कारण वीरता लेडी जेसीजको यस वर्षको अधिवेशन पनि विवादित बनेको छ ।

वीरता लेडी जेसीज वर्ष २०२६ का लागि नवनिर्वाचित मुना अधिकारी ढुंगेलविरुद्ध नेपाल जेसीजमा प्रोटेस्ट परेको हो । अध्यक्ष बनेकी ढुंगेल उम्मेद्वार बन्न मापदण्ड नपुगेको भन्दै उनीविरुद्ध नेपाल जेसीजमा प्रोटेस्ट परेको हो । नेपाल जेसीजको विधान अनुसार ढुंगेलको मापदण्ड नपुगेको हो । ५ वर्ष वा सो भन्दा पुरानो शाखामा शाखा अध्यक्ष हुनको लागि कम्तिमा पनि २ वर्ष शाखाको संचालक समितिको पदाधिकारीको रुपमा रहिसकेको हुनु पर्नेछ । त्यसमध्ये न्यूनतम १ कार्यकाल निर्वाचित हुनु पर्नेछ । साथै कम्तिमा नेपाल जेसीजको चारवटा क्षेत्रीय सम्मेलन र तीनवटा महाधिवेशनमा सहभागी भएको हुनु पर्नेछ । यो व्यवस्था हरेक शाखाको विधानमा समावेश हुनु पर्नेछ । त्यो मापदण्ड ढुंगेलको नपुगेको बताइएको छ । गत वर्षजस्तै यस वर्ष पनि जालझेल गरी अध्यक्ष बन्न बंचित गराइएकी झुमा चुडालले प्रोटेस्ट हालेकी हुन् ।
गत वर्ष सन् २०२५ मा निशा शाक्यलाई अध्यक्षमा चयन गर्न गर्दा यस वर्ष सन् २०२६ मा झुमालाई अध्यक्ष बनाउने सहमति भएको थियो । तर त्यस सहमतिलाई उल्लंघन गर्दै आफूलाई अध्यक्ष बन्न बंचित गराएको झुमाले बताइन् । अहिले उमेर सीमाका कारण उम्मेदवार दिएमा अरुले दावी विरोध गर्ने भन्दै झुमालाई उम्मेद्वारी दिन रोक लगाइएको थियो । वीरता लेडी जेसीजमा विवाद अहिले मात्र होइन । अघिल्लो बर्ष सहमति र सहकार्यबाट निशा शाक्य बर्ष २०२५ र बर्ष २०२६ मा झुमा चुडाल भनेर अहिले उमेर सीमाका कारण उम्मेदवार दिएमा दावी विरोध दिने भनेपछि झुमा उम्मेदवार तालिम र ककसमा सहभागी भइनन् । तर अर्का उम्मेदवारको मापदण्ड नपुगेको विषयमा दावी विरोध दिन खोज्दा राष्ट्रिय उपाध्यक्ष समेत रहेकी मेनुका ओलीले ठाडो अस्वीकार गर्दै ‘म नेपाल जेसीज जान्दिनँ ’भन्दै दावी विरोधसम्म लिन नमानेको आरोप रहेको छ । विधि र पदको अवमूल्यन गरेर राष्ट्रिय उपाध्यक्ष ओलीले नेपाल जेसीजको विधानसम्मत काम नगर्दा चौतर्फी आलोचना भएको छ ।
गत पुष २६ गते भएको अधिवेशनले वर्ष २०२६ का लागि कार्यसमितिमा अध्यक्षमा मुना अधिकारी ढुंगेल, कार्यकारिणी उपाध्यक्षमा अस्मिता राई कुरुम्बाङ र कविता ओली मैनाली, कानुनी सल्लाहकारमा कोपिला पोखरेल, महासचिवमा चन्द्रकला रिजाल भट्टराई र कोषाध्यक्षमा एलिना रिजाललाई चयन गरेको थियो । त्यस्तै उपाध्यक्षहरूमा पार्वता श्रेष्ठ, तारा रिजाल, निकिता अग्रवाल र दिक्षा कडरिया, सह–सचिवमा तारा बस्नेत, जनसम्पर्क अधिकारीमा हेलेन खरेल, शाखा सम्पादकमा भावना बस्नेत तथा तालिम आयुक्तमा अञ्जली शाहलाई चयन गरेको थियो । अघिल्लो दिन भएको अधिवेशनबाट निर्वाचित कार्यसमिति भोलिपल्ट पुष २७ गते मात्र घोषणा गरिएको थियो । प्रोटेस्ट परिरहँदा कोही पनि अतिथि नबोलाई माघ १ गते सपथ ग्रहण गराइएको थियो ।
पूर्व अध्यक्ष तथा सदस्यहरुलाई समेत थाहा नदिई गुपचुप रुपमा गराइएको सपथ ग्रहण कार्यक्रमप्रति धेरैले आलोचना गरेका छन् । वीरता लेडी जेसीजको कार्यक्रमप्रति सोमा शिवाकोटीले कडा प्रतिक्रिया दिएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् ,‘विधि र विधान मान्ने संस्थामा पनि थाहै नपाई चेन हस्तान्तरण भयो रे दुई चार जनाको उपस्थितिमा सचिवालयमा भन्ने सुन्नमा आयो। लाज पनि आफै लजायो होला यो देखेर यस्तो पनि दिन आएछ है आफैलाई लाज लाग्यो यो देखेर त झन्। ’
त्यस्तै पूर्व अध्यक्ष रजनी थपलिया बजगाईंले कमेन्टमा लेखेकी छन् , ‘म पनि निर्वाचन मण्डलीमै बसेको थिएँ। सबैलाई अबिर लगाएर बधाई शुभकामना दिएरै आएको थिएँ। जे जस्तो परिस्थितिमा पनि समिति तयार भएकै हो यो समितिको कार्यकाल सफल रहोस् भन्ने सोचेर यसबारेमा नेगेटिभ टिका टिप्पणी नगर्नु नै भन्ने सोचमा हो म पनि तर यसरी रातारात पद हस्तान्तरणको ब्यानर बनाई अविर फुलमाला तयारीका साथ कार्यक्रम हुँदा पनि हामी पूर्व अध्यक्षहरूलाई किन सही ढङ्गले खबर गरिएन यसरी चुपचाप सचिवालयको सानो कोठामा सदस्यहरूलाई पनि नबोलाईकन पदमा बस्ने जति मात्र भेला भएर पद हस्तान्तरण कार्यक्रम गर्नुपर्ने अवस्था किन भयो यो कुरोको जानकारी छलफल संस्थापकज्यू सहित हामी पूर्व अध्यक्षहरूले बसेर गर्ने पर्ने हुन्छ है राधा दिदी ..’



