झापा, माघ ३ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला नेकपा संयोजक पुष्पकमल दाहालले युवा नेता तामाङलाई पार्टीको टिकट दिएका हुन् ।
तामाङलाई शनिबार आफ्नो निवासमा बोलाएर दाहालले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् । आफूलाई संयोजक दाहालले टिकट दिएको तामाङले बताए ।
झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र रास्वपाका वरिष्ठ नेता तथा आगामी चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा छ । रास्वपाका शाहले झापा–५ मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।
तामाङ अखिल क्रान्तिकारीका अध्यक्ष हुन् भने तत्कालीन माओवादी केन्द्रको तर्फबाट झापा जिल्लाको इन्चार्जको जिम्मेवारीमा रहिसकेका छन् । हाल उनी नेकपाको केन्द्रीय समिति सदस्य हुन् ।



