झापा,माघ ३ । नेपाली कम्युनिस्ट पार्टीका झापा संयोजक राजु आचार्य ’अग्नि’ले पार्टी परित्यागको घोषणा गरेका छन्।


लामो समयदेखि पार्टीमा सक्रिय रहँदै आएका नेता आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै २७ वर्ष लामो राजनीतिक यात्रा टुङ्गिएको जानकारी दिएका हुन्।

आचार्यले फेसबुकमा लेखेका छन्, “प्रचण्डको पार्टी आजको मितिबाट मैले छोडेको जानकारी गराउँछु। २७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य भएको छ, अबको जीवन स्वतन्त्र नागरिकको हैसियतमा अगाडि बढ्नेछ।“

पार्टीभित्र जिल्ला प्रभाव जमाएका आचार्यको बहिर्गमनले पार्टीलाई हानी हुने पार्टीका नेताहरूले बताएका छन्।
पार्टी छोड्नुको मुख्य कारण उम्मेदवार छनोट र टिकट वितरणमा देखिएको असन्तुष्टि रहेको उनले स्पष्ट पारेका छन्।
उनले स्थानीय स्तरबाट धेरै मेहेनत गरेर जित्ने सम्भावना भएका उम्मेदवारहरूको नाम सिफारिस गरिए पनि पार्टीले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।

“हामीले सिफारिस गरेका उम्मेदवारहरू छाडेर पार्टीले अन्यत्रका मान्छेलाई उम्मेदवार बनाएर पठाउन थालेपछि आत्मसम्मानले पार्टीमा बस्न दिएन,“ उनले भने।

आचार्यले स्वाभिमान र आत्मसम्मान गुमाएर पार्टीमा बसिरहनुको कुनै औचित्य नरहेको भन्दै नेतृत्वप्रति कडा असन्तुष्टि पोखेका छन्।

जिल्ला तहमा उम्मेदवार सिफारिस गर्दा स्थानीय भावना र आवश्यकतालाई लत्याइएको उनको ठहर छ।
उनले भने, “मलाई टिकट दिइएन भनेर होइन। तर झापाको भूगोल बुझेको मान्छे उम्मेदवार बनाउनुपर्छ भन्ने मेरो कुरा हो।“

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्