झापा, माघ ३ । नेपाली कांग्रेस झापाको जिल्ला समितिलाई हेर्दा प्रायः सबै पदाधिकारीसहित अधिकांश जिल्ला सदस्यहरु निवर्तमान सभापति शेरबहादुर देउवा समूहका छन् ।

निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको सभापतिको मान्यता दिइसकेको छ । यो अबस्थामा देउवा समूहका जिल्ला तहका नेता कार्यकर्ताहरु अन्यौलमा छन् । अब के गर्ने ? गगन थापालाई सभापति स्वीकार गर्ने कि देउवाको पछि लाग्ने ?
जिल्ला समिति झापालाई हेर्ने हो भने सबै पदाधिकारीहरु देउवा समूहका छन् । जिल्ला सभापति देउकुमार थेबे , उपसभापतिहरु केशव पाण्डे र शेरबहादुर भट्टराई , सचिव नविन बिमली र कृष्ण हुमागाँई , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी तथा कोषाध्यक्षमा जलकुमार गुरुङ सबैजना देउवा समूहका हुन् । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको गृहजिल्ला झापामा उनकै समर्थकहरु बढी छन् ।
करिव २ सय सदस्यीय जिल्ला समितिमा अधिकांश देउवा समूह( यसअघिको संस्थापन समूह) का छन् । त्यस्तै क्षेत्रीय सभापतिहरुलाई हेर्ने हो भने क्षेत्र नं ३ का गणेश पोखरेलबाहेक सबै आधिकारिक गगन थापा समूहका छन् । क्षेत्र नं १ का इन्द्रबहादुर बुढाथोकी , २ का खगेन्द्र मैनाली , ४ का जयनारायण शाह र ५ का ढुण्डीराज भण्डारीले विशेष महाधिवेशनमा भाग लिएका थिए ।
आधिकारिक मान्यता पाएका थापालाई सभापति स्वीकार्ने वा पार्टी कार्यालय छोड्ने भन्ने सवालमा एकजना कार्यकर्ताले त्यस विषयमा अन्यौल रहेको बताए । उनले जिल्ला तहका कार्यकर्ताहरुले आधिकारिक कांग्रेस पार्टीलाई नै स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।



