झापा, माघ ४ । एमाले अध्यक्ष केपी ओलीले बक्रदृष्टि राखेपछि पार्टीभित्रका नेता कार्यकर्ता कसैको पनि भलो नहुने दृष्टान्त एलपी साँवामा पनि लागू भएको छ ।

एक समय ओलीनिकट मानिने साँवा झापा क्षेत्र नं ४ बाट लगातार दुईपटक संघीय सांसद निर्वाचित भए । उनको त्यो क्रेज अहिले पनि कायम छ । तर पार्टी अध्यक्ष ओलीको निगाहबाट उनी ओझेल पर्दै गए । एमालेका पूर्वसांसद साँवाको राम्रो क्रेज हुँदाहुँदै उनले यसपटक टिकट पाएनन् । उनको विकल्पमा एमालेले मनोज ताम्ली लिम्बूलाई उम्मेदवार बनायो ।
यसअघि एमालेको ११ औं महाधिवेशनमा ओली टीममा नपरेका साँवाले केन्द्रीय कमिटीमा पनि ठाउँ पाएनन् । उनी अप्रत्यक्षरुपमा इश्वर पोखरेलसंग जोडिएका थिए । जसको बदला ओलीले साँवासंग पनि लिए । अध्यक्ष ओलीले गएको महाधिवेशनका प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा पाखा लगाएको भन्दै एमालेभित्र असन्तुष्टि बढेको छ ।
झापा–४ बाट यसै पटक केन्द्रीय सदस्य बनाइएका ताम्लीले टिकट पाउँदा २०७४ र २०७९ को निर्वाचनका विजेता साँवा टिकटविहीन बनेका हुन्। एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छानेको छ । हिजो बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुङ्गो लगाएको हो । एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीको तर्फबाट अध्यक्ष ओलीलाई नै अघि सार्ने निर्णय गरेको छ । अध्यक्ष ओली यसपटक पनि साविककै निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै झापा १ बाट रामचन्द्र उप्रेती र २ बाट सभामुख देवराज घिमिरे उम्मेदवार बन्ने टुंगो लागेको छ । झापा क्षेत्र नं ३ बाट उम्मेद्वार तय हुन बाँकी छ । त्यस क्षेत्रबाट हरिबहादुर राजवंशी र बसन्त बानियाको नाम पठाइएको छ ।



