झापा, माघ ४ । धरानको जिरोप्वाइन्टमा आइतबार दिउँसो सवा ४ बजे बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टस्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको इन्टरनेशनल टेम्स एकेडेमी लेखिएको बस अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
बस श्रीकृष्ण प्रणामी मन्दिरको सटरमा रहेको न्यू सभा मेडिलकमा गएर ठोक्किँदा ५ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले जानकारी दिए ।
मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा धरानका डीएसपी भिषणबाबु राईको कमान्डमा २० जना टोलीले उद्धार तथा अनुसन्धान गरिरहेको थेबेले जानकारी दिए ।



