झापा, माघ ५ । २०७९ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुनी कार्वाही गर्न लागेका स्वागत नेपाललाई नै झापा २ को उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपालले आफूलाई राप्रपाले सघाउने प्रचार गरेका थिए । त्यस कार्यको विरुद्धमा राप्रपाले विज्ञप्ति जारी गरी त्यसबेला झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार तथा उन्नत लोकतन्त्र पार्टीका पूर्व अध्यक्ष स्वागत भनिने भद्रबहादुर नेपाललाई सघाउने कुनै पनि सहमति नभएको भन्दै राप्रपाका नाममा गलत क्रियाकलाप गरेको पाईएमा तुरुन्तै कानूनी उपचार खोज्ने चेतावनी दिएको थियो ।

अघिल्लो निर्वाचनमा राप्रपाले एमालेसंग चुनावी तालमेल गरेको थियो । त्यस निर्वाचनमा नेपाल उपविजेता बनेका थिए । एमालेका देवराज घिमिरे २८ हजार ७१६ मतसहित निर्वाचित हुँदा नेपालले २६ हजार ४५५ मत ल्याएका थिए ।
राप्रपामा प्रवेश गरी उम्मेदवार बन्न लागेका नेपाल केही महिनाअघि दुर्गा प्रसाईको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानसंग जोडिएका थिए । गत वर्षको चैत १५ गते दुर्गा प्रसाईले हिंसात्मक प्रदर्शन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र , महामन्त्री धवलशमसेर राणासहित अधिवक्ता नेपाल पनि पक्राउ परेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्