झापा, माघ ६ । उच्च अदालत विराटनगर धनकुटा इजलासमा झापा जिल्ला अदालतबाट आज पहिलो पटक भर्चुअल बहस (श्रव्यदृश्य सुनुवाइ)भएको छ।


धनकुटा इजलासका न्यायाधीश कृष्णलाल भट्टराई र मिना गौतम सेढाईको संयुक्त इजलासमा झापा बार महिला समिति अध्यक्ष एवं झापा बारकी सहसचिव अधिवक्ता सानु कार्की बस्नेतले झापा जिल्ला अदालतको अनलाइन बहस कक्षबाट भर्चुअल बहस गरेकी थिइन् ।

पक्ष र कानुन व्यवसायीहरु इजलाससमक्ष प्रत्यक्ष भौतिक उपस्थिति बिना हुने श्रव्यदृश्य सुनुवाई (भर्चुअल बहस) कोभिड १९ महामारीको समयमा सर्वोच्च र उच्च अदालतहरुमा २०७७/७८ सालदेखि व्यापक अभ्यासमा ल्याइएको थियो। विशेषगरी जिल्ला अदालतबाट उच्च अदालत टाढा हुँदा समय र खर्च पनि बढी लाग्ने हुँदा त्यस्ता जिल्लालाई प्राथमिकता दिँदै अनलाइन बहसको सुरुवात गरिएको थियो। 

प्रचलित कानुनबमोजिम जारी गरिने पक्राउ पुर्जी, जरुरी पक्राउ पुर्जीको स्वीकृति, हिरासतमा वा निगरानी कक्षमा राख्ने आदेश, थुनछेकसम्बन्धी कार्य, बयान, बकपत्र र बहस पैरवी नेपालभरमा जहाँबाट पनि उच्च अदालतहरुमा श्रव्यदृश्य (भर्चुअल ) मार्फत बहस गर्न सकिने ब्यबस्था छ।

न्यायालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधारको विस्तार, स्तरोन्नति, अनलाईन उपकरण, डिजिटल सफ्टवेयरहरू र इन्टरनेट क्षमतामा अभिवृद्धि गर्दै प्रविधिमैत्री जनशक्ति थप गरेमा श्रव्यदृश्य सुनुवाइ अझ प्रभावकारी हुने देखिन्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्