झापा, माघ ८ । आगामी निर्वाचनका लागि न्यून संख्यामा झापामा उम्मेदवारी दिने अवसर पाएका महिला उम्मेदवारहरुले आफ्नो शक्ति प्रदर्शन गर्नुपर्ने चुनौती छ ।

झापाका कुल ९० जना उम्मेदवारमध्ये जम्मा १५ जना महिला उम्मेदवार छन् । संख्यात्मक हिसावले करिव १६ प्रतिशत रहेका महिला उम्मेदवारहरुको पृष्ठभूमि हेर्दा पुरुष उम्मेदवारभन्दा कम क्षमतावान छैनन् । तर एउटै क्षेत्रमा तीनजना सशक्त महिला उम्मेदवारले उम्मेदवारी दिएका छन् । झापा क्षेत्र नं २ मा निवर्तमान उपसभामुख र दुई पूर्वमन्त्रीहरु एउटै ठाउँमा भिड्न लागेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर,नेपाली कांग्रेसका तर्फबाट पूर्व राष्ट्रियसभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाई र पहिलो संविधान सभा सदस्य,पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री धर्मशीला चापागाईँ क्षेत्र नं २ का उम्मेदवार बनेका हुन् । निवर्तमान सभामुख देवराज घिमिरे र अघिल्लो निर्वाचनका उपविजेता राष्ट्रिय प्रजातन्त्र पार्टीका स्वागत नेपालले उम्मेदवारी दिएको यस क्षेत्रबाट ती महिला उम्मेदवारहरुलाई निर्वाचन जित्न कति सहज हुन्छ भन्ने प्रश्न देखिएको छ ।
त्यस्तै झापा क्षेत्र नं १मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगीले एमालेका रामचन्द्र उप्रेती र कांग्रेसका केशवराज पाण्डेलाई कडा टक्कर दिनुपर्ने चुनौती छ । उप्रेती सहकारी विज्ञ हुन् भने युवा नेता पाण्डे कांग्रेसका जिल्ला उपसभापति हुन् । बिघटित प्रतिनिधि सभामा कान्छी सांसदको रूपमा रहेकी डाँगी यसअघि समानुपातिक तर्फबाट सांसद बनेकी थिइन् । उनी पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी हुन् ।
त्यस्तै झापा ५ मा कांग्रेसकी नयाँ अनुहार मन्धरा चिमरियालाई अझ ठूलो चुनौती छ । त्यस क्षेत्रमा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवार बनेका छन् ।
महिला उम्मेदवारहरुको उम्मेदवारी हेर्दा सात दलबाट १३ तथा २ महिलाले स्वतन्त्र मनोनयन दर्ता गराएका छन् ।जसमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नं. २ मा ५ वटा राजनीतिक दलबाट ५ जना महिलाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर, नेपाली कांग्रेसबाट सरिता प्रसाई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मशीला चापागाई, नेपाल किसान मजदुर पार्टीबाट चन्द्रकुमारी गारु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती,क्षेत्र नं. ३ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला साँवा, नेपाल किसान मजदुर पार्टीबाट धर्मलक्ष्मी दुलाल र जनता समाजवादी पार्टीबाट बिनिताकुमारी राजवंशी , क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट मन्धरा चिमरिया ,स्वतन्त्र रुपमा सञ्जना गौतम र शोभा भण्डारी , क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी र जनता समाजवादी पार्टीबाट रमा मेचे तथा क्षेत्र नं. ४ मा श्रम संस्कृति पार्टीबाट अमृतादेवी राई र नेपाल मजदुर किसान पार्टीबाट तुल्सीलक्ष्मी दुमरुले उम्मेदवारी दर्ता गराएका छन् ।
अघिल्लो निर्वाचनमा झापाबाट कुनै पनि महिला उम्मेदवारले चुनाव जित्न सकेनन् । मुख्य पार्टीबाट उनीहरुले उम्मेदवारी नै दिन पाएनन् । २०७४ को निर्वाचनमा झापा २ मा एमालेकी पवित्रा निरौला खरेलले निर्वाचन जितेकी थिइन् । त्यसभन्दा अगाडि २०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचनमा तत्कालीन माओवादी पार्टीकी धर्मशीला चापागाईले जितेकी थिइन् । त्यसबाहेक झापाबाट संसदीय निर्वाचनमा महिला उम्मेदवारहरुले जित्न सकेका छैनन् ।



