झापा, माघ ९ । झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहको उम्मेदवारीसंगै मनोनयनकै दिनदेखि दुवै पार्टीबीच कडा टक्कर शुरु भएपछि सुरक्षा चुनौती बढेको छ ।

देशकै ‘चुनावी इपिसेन्टर’ बनेको झापा ५ मा सुरक्षा निकायलाई हाइअलर्टमा राखिएको छ । जिल्लाका सुरक्षाकर्मीले नपुग्ने देखेर बाहिरबाट थप सुरक्षाकर्मी मगाइएको छ । जनपद र सशस्त्र गरी दुवै सुरक्षा निकायले माथिल्लो निकायबाट थप सुरक्षाकर्मी माग गरेका छन् ।

झापा ५ मा हिजो आँकलन गरिएको भन्दा बढी सुरक्षा चुनौती देखिएकाले जिल्ला सुरक्षा समितिमा निर्णय गरी माथिल्लो निकायबाट थप जनशक्ति मगाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनले जिल्लाका सुरक्षा निकायले झापा ५ लाई बढी संवेदनशील लिएको जानकारी दिए ।

झापा ५ कै लागि कोशी प्रदेश प्रहरी कार्यालयबाट सयभन्दा बढी सुरक्षाकर्मी मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । त्यस्तै सशस्त्र प्रहरी बलले पनि बाहिरबाट थप सुरक्षाकर्मी मगाएको छ । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि थप सुरक्षाकर्मी मगाउने विषयमा जिल्ला सुरक्षा समितिको बैठकमा छलफल भएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति तुलबहादुर भण्डारीले जानकारी दिए ।

सुरक्षा निकायको सबै कमाण्ड परिवर्तन
आगामी फागुन २१ गतेको निर्वाचनको लागि झापाका सबै सुरक्षा निकायको कमाण्ड परिवर्तन गरिने भएको छ । गृह मन्त्रालयले झापाका प्रहरी प्रमुख राजन लिम्बूलाई सरुवा गरेर बसुन्धरा खड्कालाई खटाएको छ। लिम्बू फिर्ता भएपछि देशकै ठूलो सुरक्षा चुनौती मानिएको झापाको कमाण्ड खड्काले आजदेखि सम्हालेकी छन् । त्यस्तै सशस्त्र प्रहरीको कमाण्ड पनि परिवर्तन हुँदैछ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपतिलगायत जिल्ला तहका कमाण्ड पनि केही दिनभित्रै फेरिने भएका छन् ।

झापामा ९ हजार सुरक्षाकर्मी परिचालन गरिने
आगामी निर्वाचनमा झापामा करिव ९ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्लाबाट जनपद प्रहरी २२ सय , सशस्त्र प्रहरी ११ सय , नेपाली सेना ८ सय र निर्वाचन प्रहरी ४ हजार ७९७ जना निर्वाचनमा खटिनेछन् । त्यसमा बाहिरबाट थप सुरक्षाकर्मी थपिने छन् ।

सुरक्षा पोस्ट पुनर्स्थापना
निर्वाचनको सुरक्षाका लागि जेनजी आन्दोलनमा विस्थापित भएका सबै अस्थायी प्रहरी चौकीहरु पुनर्स्थापना गरिन थालिएको छ । यसक्रममा बुद्धशान्ति वडा न.–४ मंगलबारे बजारमा रहेको अस्थायी प्रहरी चौकीलाई हिजो पुनर्स्थापना गरिएको हो । जेनजी आन्दोलनका क्रममा सो प्रहरी चौकी विस्थापित भई इलाका प्रहरी कार्यालय बुधवारेमा मर्ज भएको थियो । प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर कट्वालको कमाण्डमा ४जनाको टोलीसहित अस्थायी प्रहरी चौकी मंगलबारे पुनर्स्थापना भएको प्रहरीले जनाएको छ । त्यस्तै दमकको बेलडाँगी शरणार्थी शिविरबाट विस्थापित सशस्त्र प्रहरीको बेस क्याम्प पुनर्स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए । जेनजी आन्दोलनमा विस्थापित अझै एउटा अस्थायी प्रहरी चौकी पुनर्स्थापना गर्न बाँकी रहेको गेलालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्