मेचीनगर, माघ ९ । झापाको मेचीनगरमा तीनदिने रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।

दोस्रो संस्करणका रूपमा यही माघ १५ देखि १७ गतेसम्म मेचीनगर १० नन्दा करिडोरमा महोत्सव सञ्चालन हुन लागेको शुक्रबार आयोजक नन्दा करिडोर प्रवद्र्धन केन्द्रले जनाएको छ । पहिलो महोत्सव निक्कै प्रभावकारी भएकाले दोस्रो संस्करणको आयोजना गरिएको हो ।
प्राचीन वस्तुहरूको खुल्ला प्रदर्शनी , खुल्ला चित्रकला प्रदर्शनी, रैथाने खानाको महत्वसम्बन्धी प्यानल छलफल, रैथाने खाना पाक प्रतियोगिता, विभिन्न सांस्कृतिक नृत्य झाँकी प्रदर्शन र खुल्ला बुद्धिचाल प्रतियोगिता महोत्सवका मुख्य आकर्षणहरू रहेको पत्रकार सम्मेलनमा बताइयो ।
करिब चार लाख रूपैयाँ खर्च अनुमान गरिएको महोत्सव सम्पन्न गर्नका लागि एक लाख ३३ हजार रूपैयाँ पर्यटन कार्यालय काँकडभिट्टासँग सम्झौता भएको र दुई लाख रूपैयाँ मेचीनगर नगरपालिकासँग माग गरिएको आयोजक संस्थाका अध्यक्ष धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार गाउँघरमा पाईने रैथाने खाद्यान्न शहर बजारका सुविधासम्पन्न र पाँचतारे होटलमा पुर्याउन पनि महोत्सव आयोजना गर्न लागिएको हो ।
कुल १० वटा स्टल रहने र सवै स्टल निःशुल्क रूपमा आयोजकले व्यवसायीलाई उपलब्ध गराउने छ । चारवटा स्टल विभिन्न जातजातिका रैथाने खानाका परिकार र बाँकी स्टल अन्य प्रकारका हुनेछन् । स्टलहरू रैथाने परिकार तथा सामान विक्रीका हुने सचिव निर्मल दाहालले जानकारी दिए ।



