संखुवासभा , माघ ११ । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।


चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप आज साँझ ५.२० बजे चैनपुर–१ नुनढाकीनजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । यात्रु बोकेको सुमो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल झरेर दुर्घटना भएको हो ।

मृतकमध्ये एकजना संखुवासभा चैनपुर १ मैदाने बस्ने बर्ष अन्दाजी ५९ का पदमबहादुर लिम्बू भएको खुल्न आएको छ । अर्का मृतक अन्दाजी बर्ष ३० का पुरुषको नाम थर वतन खुल्न सकेको छैन । दुवै लासको कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि आधारभूत अस्पताल चैनपुर संखुवासभा पठाइएको छ ।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको थियो । घाइते सबैको उद्धार गरेर चैनपुर लगिएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा
१, संखुवासभा चैनपुर न.पा १ सिङरीङ बस्ने बर्ष ३४ का निमदोर्ची शेर्पा गम्भीर घाइते भएको, (बोल्न नसक्ने )
२, ऐ. ऐ. १ मैदाने बस्ने बर्ष ४५ का भिमबहादुर थक्लुङ गम्भीर रहेको (बोल्न नसक्ने )
३, संखुवासभा चैनपुर न.पा. १ सिङरीङ बस्ने बर्ष अन्दाजी ९ का पेम्बा शेर्पा मध्यम रहेको (बोल्न सक्ने)
४. पाँचथर फिदिम ४ माझीटार बस्ने बर्ष अन्दाजी२८ का दिपेश माझी मध्यम रहेको ( बोल्न सक्ने)

घाइते भिमबहादुर थक्लुङलाई थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्