झापा, माघ १२ । झापाका तीन युवा नेताले आफूहरु गुन्डा नभएको बताएका छन् ।

नेकपा एमालेनिकट युवा संघका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज राज आङदम्बे , नेपाली कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल खेलकुद महासंघका झापा अध्यक्ष सुरेश आले र कांग्रेसनिकट नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व जिल्ला सभापति राजेन्द्र उप्रेतीले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी निर्माणाधीन एसियन हाइवेको ठेक्का लिएको निर्माण कम्पनीका मजदुरमाथि हातपात गरी गाडी कब्जा गरेको र गुन्डागर्दी गरेको भन्ने आरोप सरासर गलत भएको स्पष्ट पारेका छन् । एभ्रास्कन र कालिका जेभीका तर्फबाट मेनेजर उज्वल प्रसाईले सार्वजनिक गरेको विज्ञप्ति र त्यसका आधारमा प्रकाशित समाचारहरुमा आफूहरुलाई लक्षित गरी चरित्र हत्या गर्ने, सामाजिक मान प्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरेको भन्दै उनीहरुले त्यसको घोर निन्दासमेत गरेका छन् ।

एशियन हाइवे निर्माणको क्रममा निर्माण कम्पनी एभ्रास्कन कालिका जोइन्ट भेन्चरले प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार नगरी अवैध तरिकाले चुरे जस्तो संवेदनशील क्षेत्रको दोहन गर्ने मनसायले मदन भण्डारी राजमार्गलाई प्रत्यक्ष असर पार्ने, स्थानीय जनताको दैनिकी समेतलाई असर गर्नेगरी माटो उत्खनन् गरेर पुरुवा ल्याउने काम गरिरहेकोले सोधपुछ गर्ने काम भएको स्वीकारेका छन् । उनीहरुले राष्ट्रिय गौरवको एसियन हाइवे निर्माणको आफूहरु विरोधी नभएको बताउँदै तर चुरे क्षेत्र कुनै पनि हालतमा उत्खनन् गर्न नदिने चेतावनी दिएका छन् ।

कुनै पनि सम्बन्धित निकायबाट अनुमति नलिई, अनाधिकृत रुपमा उत्खनन् गरी हाइवेमा पुरुवा हाल्ने काम भइरहेको दावी गर्दै स्थानीय प्रभावित नागरिकहरुले स्थानीय प्रशासनलाई जानकारी गराएपश्चात् प्रहरीले नै पुरुवा ओसार्ने साधनलाई नियन्त्रणमा लिएको उनीहरुको भनाई छ । सामाजिक क्षेत्रमा क्रियाशील आफूहरुलाई बद्नाम गर्न प्रेषित विज्ञप्तिको खण्डन गर्दै उनीहरुले निर्माण कम्पनीका मेनेजर प्रसाईलाई कारबाहीको मागसमेत गरेका छन् ।

सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कम्पनीले हिजोदेखि पूर्व–पश्चिम एसियन हाइवे विस्तारको काम रोकेको छ ।
प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने र नियन्त्रणमा लिइएका आफ्‌ना सवारी साधन छोड्नु पर्ने अडानमा निर्माण कम्पनी रहेको छ ।

माघ १० गते ४ वटा , माघ ९ गते एउटा र पुष २३ गते दुईवटा टिपर स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । शनिवार बिहान १;३०बजे कनकाई वडा न.१ मा प्र.१–०२–०१क.३७४८न.को टिपर र चालक बाह्रदशी वडा न.१बस्ने सुमन माझी , प्र.१–०२–००१क.४३२६न.को टिपर र चालक बेलबारी वडा न.२ लालभित्ती बस्ने सरोज तोलाङ्गे , प्र.१–०२–००१क.४३२५न.को टिपर र चालक बिराटनगर वडा न.१२बस्ने सनम श्रेष्ठ तथा ना५ख६४९०न.को टिपर र चालक झापा गाउँपालिका वडा न.२ बस्ने गोमत दासलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका ७ वटा टिपरमध्ये पाँचवटा अर्जुनधारा नगरपालिका कार्यालय र दुईवटा सव डिभिजन कार्यालय सुरुङ्गामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्