काठमाडौँ । नेपाललगायत विभिन्न १५ देशका अंग्रेजी भाषा शिक्षकहरूको सम्मेलन यही माघ १६ र १७ गते काठमाडौंमा हुने भएको छ ।

नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को आयोजनामा ३० औँ अन्तर्राष्ट्रिय सम्मेलन ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा आयोजना गर्न लागिएको हो ।

नेल्टाको कार्यालयमा बुधवार आयोजित पत्रकार भेटघाटमा नेल्टा अध्यक्ष प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवालीसहितका पदाधिकारीहरूले सम्मेलनको ३० औँ संस्करणबारे जानकारी गराएका हुन् । अध्यक्ष ज्ञवालीका अनुसार ’भावी पुस्ताका लागि अङ्ग्रेजी भाषा शिक्षणः मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ सम्मेलनमा विभिन्न देशका शिक्षक, अध्येता र विज्ञहरूबिच छलफल हुने छ ।

शुक्रवार बिहान ९ बजे उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, चीन, सिङ्घापुर, मङ्गोलिया, अमेरिका, बेलायत, जापान, हङकङलगायत १५ भन्दा बढी राष्ट्रबाट करिब ८ सय अङ्ग्रेजी शिक्षक सहभागी हुने नेल्टका प्रथम उपाध्यक्ष एवम् कार्यवाहक महासचिव जयराम खनालले जानकारी दिएका छन् ।

खनालका अनुसार सम्मेलनमा ५ वटा किनोट, ६ वटा प्लेनरी, ८ वटा फिचर, १ वटा प्यानल, प्रदेशस्तरीय सिम्पोजियम र १३४ वटा कन्करेन्ट सेसन, वर्कसप र छलफल हुनेछन् ।

त्यस्तै, नेल्टाका द्वितीय उपाध्यक्ष डाक्टर भीम गौतमले देशको परिवर्तित राजनीतिक परिस्थिति र आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको कारण यस पटक सम्मेलन दुई दिनमा सीमित गरिएको बताए ।“हामीले अगाडि नै यो कन्फ्रेन्स युलेन्स स्कुलमा तीन दिनको लागि गर्ने भन्ने निर्णय गरिसकेका थियौं। तर, देशको परिवर्तित राजनीतिक परिस्थितिले त्यो समयमा गर्न सकेनौँ,” डाक्टर गौतमले पत्रकार सम्मेलनमा भने ।

सम्मेलनमा पूर्व प्राथमिकदेखि विश्वविद्यालय तहसम्मका शिक्षक तथा अनुसन्धाताहरू सहभागी हुनेछन् । रेलो, अमेरिकन दूतावास, ब्रिटिस काउन्सिल तथा नेपालका विभिन्न शैक्षिक संस्थाहरूको सहयोगमा सम्मेलन आयोजना गरिन लागिएको हो ।
नेल्टा कोषाध्यक्ष डाक्टर गङ्गालक्ष्मी भण्डारीका अनुसार यस पटकको सम्मेलनमा युवा शिक्षकहरूलाई प्राथमिकता दिइएको छ । जसअनुसार सम्मेलनको दुई दिनसम्म २० भन्दा बढी रिपोर्टरहरूले काम गर्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेल्टाका निवर्तमान अध्यक्ष प्राध्यापक मोतीकला सुब्बा देवानले १५ देशका शिक्षक र अध्येताहरूलाई नेपाल ल्याएर एकेडेमिक अनुभवको आदान प्रदान गर्न लागिएको हुँदा ३० औँ संस्करण नेपालको अङ्ग्रेजी शिक्षाको सुधारका लागि कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरिन् ।

सन् १९९२ देखि अङ्ग्रेजी भाषा शिक्षण तथा सिकाइको लागि स्थापित नेल्टाको सातै प्रदेशमा कार्यसमिति गठन गरिएका छन् । यस संस्थामा प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्मका ५ हजार७०० भन्दा बढी आजीवन सदस्यहरू तथा संस्थागत सदस्यहरू आबद्ध छन् ।यस संस्थाले विभिन्न ६५ जिल्लामा शाखा विस्तार गरेको छ ।

नेल्टाले २९ औँ अन्तर्राष्ट्रिय सम्मेलन गत वर्ष फागुन १५, १६ र १७ गते ललितपुरको हात्तिबनस्थित लिटल एन्जेल्स स्कुलमा सम्पन्न भएको थियो । सो सम्मेलनमा २० देशका १ हजार अङ्ग्रेजी शिक्षक सहभागी भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्