झापा, माघ १५ । २०७४ मंसिर १० गतेको निर्वाचनमा झापा ३ बाट उम्मेदवार बनेका कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनको मुखमा बिर्तामोडको १० नं वडालाई नगरपालिकाबाट अलग्याएर क्षेत्र नं ३ मा गाभ्न लगाए ।

उनको निजी स्वार्थ थियो – बिर्तामोड १० मा भएका कांग्रेस कार्यकर्ताहरुको भोटले चुनाव जित्ने । तर, निर्वाचनको परिणाम उल्टो आयो । २०७४ सालको निर्वाचनमा ४४ हजार ६१४ मतसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो ।
२०७० सालदेखि लिङ्देनसंग लगातार भिड्दै आएका सिटौला २०७९ को निर्वाचनमा फेरि झापा ३ मा उम्मेदवार बने । त्यस निर्वाचनमा पनि उनी पराजित भए । लिङ्देनले ४० हजार ६४८ मतसहित आफ्ना निकटतम् प्रतिद्वन्द्वी सिटौलालाई पराजित गरेका थिए । सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए ।
बिर्तामोड नगरपालिकाको भूगोलबाट १० नं वडालाई अलग्याउँदा सिटौलालाई सोचेजस्तो फाइदा भएन । तर, बिर्तामोड १० का वडाबासीहरुलाई भने ठूलो घाटा भयो । बिर्तामोड नगरपालिकाको १० वटा वडामध्ये १ देखि ९ सम्म ९ वटा वडा क्षेत्र नं २ मा पर्दा १० नं वडालाई अलग्याएर क्षेत्र नं ३ मा पारिएको थियो ।
बत्तीमुनिको अँध्यारो भनेजस्तै विकास निर्माणको हिसाबले आफ्नो वडा बिगत ८ वर्षदेखि ओझेलमा परेको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले बताए । उनले एक साताभित्र वडाबासीहरुको आमभेला गरी बिर्तामोड १० लाई क्षेत्र नं २ मा गाभ्नुपर्ने मागसहितको प्रस्ताव नगरपालिकामा पेश गर्न लागिएको जानकारी दिए । उनका अनुसार बिर्तामोड १० मा जे जति विकास भएको छ , त्यो सबै नगरपालिकाको बजेटबाट भएको हो । ३ नं क्षेत्रबाट जितेर गएका सांसदले बिर्तामोड १० का लागि खासै विकास नगरेको उनको गुनासो छ । उनले सामाजिक संजालमा लेखेका छन् ,‘ बिर्तामोड १० अब कतातिर ?के हामी भोटकै लागि मात्र हो ? धेरै छन् यहाँका जनगुनासोहरु ।’
हिजो मात्र बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुईवटा वडा बनाउने प्रस्ताव गरिएको छ।
नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुलासत्रमा बोल्दै वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले वडा विभाजनको माग गर्दै विशेष प्रस्ताव प्रस्तुत गरेका थिए ।
साविक वडा नम्बर २, ३, ४ र ५ लाई वडा नम्बर २ तथा साविक वडा नम्बर ६, ७, ८ र ९ लाई वडा नम्बर ११ कायम गर्न प्रस्ताव गरिएको हो ।
२०७४ भदौमा निर्वाचन क्षेत्र निर्धारण आयोगले झापामा पाँचवटा निर्वाचन क्षेत्र तोकेको थियो । जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरिएको दावी गरिएको थियो । झापामा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० लाई समेटेर क्षेत्र नम्बर १ बनाइएको छ ।
त्यस्तै, बुद्धशान्ति गाउँपालिकाको वडा नं १, २, ३, अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिकाको ८ र ९ नं वडालाई मिलाएर क्षेत्र नम्बर २, भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका वडा नं १० लाई समेटेर क्षेत्र नं ३ बनाइएको छ ।
कनकाई नगरपालिकाको वडा नं १ देखि ७ सम्म, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका वडा नं १, २ र गौरादह नगरपालिकाको ९ नम्बर वडालाई समेटेर क्षेत्र नम्बर ४ र दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह वडा नं १ देखि ८ सम्म र गौरीगञ्जको वडा नं ३, ४, ५, ६ मिलाएर क्षेत्र नम्बर ५ बनाइएको छ ।



