झापा, माघ १६ । झापाको बिर्तामोड र अर्जुनधाराबाट लाखौंको धनमाल चोरी भएको छ ।

हिजो राति बिर्तामोड –१ पञ्चकन्या प्लटिङस्थित पुनमदेवी साहको २ तले घरमा कोही नभएको अवस्थामा सुत्ने कोठाको ताल्चा फुटाई दराजभित्र रहेका नगद र गरगहना चोरी भएको हो । बिभिन्न सुनको गरगहना ६ तोला,चाँदीको गरगहना १२ तोला र नगद २० हजार गरी अन्दाजी १९ लाख बराबरको धनमाल चोरी भएको जनाइएको छ ।
त्यस्तै गएराति अर्जुनधारा ९ कालिस्थान सिरान बस्ने ५३ वर्षीय नारद पोख्रेलको घरमा दुईजना अपरिचित व्यक्ति घरभित्र प्रबेश गरी धनमाल चोरी गरेका छन् । दराज खोली सुनको गरगहना २ तोला ,चाँदीको गरगहना ३ तोला, नगद ५५ हजार र भीभो कम्पनीको मोबाइल गरी जम्मा ८ लाख बराबरको धनमाल चोरी गरी लगेको पीडितले बताएका छन् ।
राति ९ बजे अस्थायी प्रहरी बिट सालबारीमा जानकारी भएपछि प्रहरी सहायक निरीक्षक प्रभु रायको कमाण्डमा र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी बरिष्ठ नायव निरीक्षक नुमराज केसीको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।



