झापा, माघ १६ । प्रहरीलाई दोष लगाउँदै आयोजक झापा उद्योग वाणिज्य संघले झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आजदेखि बन्द गरेको छ ।

भद्रपुरको मेची रंगशालामा माघ ७ देखि माघ २२ गतेसम्मका लागि भनेर संचालन गरिएको सो महोत्सव प्रहरी असहयोगका कारण अब चलाउन नसक्ने जनाउँदै निर्धारित मितिअगावै बन्द गर्नुपरेको आयोजकले जनाएको छ ।
झापा उद्योग वाणिज्य संघको कार्यालयमा आज साँझ पत्रकार सम्मेलन गरी झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले जिल्ला प्रहरी कार्यालयमा भर्खरै सरुवा भई आएकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले कमाण्ड सम्हालेको दिनदेखि नै प्रशासन र प्रहरीको तर्फबाट यो महोत्सवलाई हेर्ने दृष्टिकोण सकारात्मक नबनेको गुनासो गरे ।
महोत्सवले गति लिदै गर्दा , स्टलहरुमा अवलोकनकर्ताको भीड बढ्दै गर्दा, कलाकारहरुको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्दैगर्दा ‘समय’को विषयलाई लिएर प्रहरीले साउण्ड सिस्टमको प्लग तानिदिने, पिङमा चढ्दै गरेका सर्वसाधारणलाई झार्ने, आयोजकलाई विभिन्न किसिमका प्रताडना दिनेजस्ता क्रियाकलापका कारण महोत्सवलाई नै सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी प्रशासनकै त्रासका बीच महोत्सव सञ्चालन गर्न चुनौती देखा परेको उनले बताए ।
उनले महोत्सवलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्ने उद्देश्यले प्रहरी–प्रशासनको नजिकको स्थल मेची रंगशालालाई रोजेकोमा प्रहरीबाटै असुरक्षित भएको महसुस हुन थालेपछि महोत्सवको निर्धारित मितिअगावै समापन गर्नुपर्ने अवस्थामा आफूहरु पुगेको जानकारी दिए ।
महोत्सवको स्वीकृति पत्रमा जिल्ला प्रशासन कार्यालय झापाले समयको कुनै सीमा तोकेको थिएन । माघ १३ गते आयोजक झापा उद्योग वाणिज्य संघलाई विविध शर्तसहित बेलुकाको ७ बजेसम्म महोत्सव संचालन गर्न पत्र पठाइएको थियो ।
त्यस विषयमा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालसहित जिल्लाका सबै राजनीतिक दलका जिम्मेवार प्रतिनिधि, उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डलले माघ १४ गते जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्रसहित न्यूनतम राति १० बजेसम्म महोत्सव संचालन गर्न दिन माग गरेका थिए । तर प्रशासनले राति ९ बजेसम्म मात्र महोत्सव सञ्चालन गर्न अनुमति दिएको थियो ।
प्रमुख जिल्ला अधिकारीसंग सहमति भइसकेर प्रहरी उपरीक्षकले दख्खल दिँदा महोत्सव संचालन गर्न नसकिएको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए । उनले महोत्सव चल्न नदिएर प्रहरीले गलत गरेको आरोप लगाए ।
महोत्सव नचल्दा एक करोडभन्दा बढी घाटा भएको छ । विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कलाकारहरुसँग आउने मितिसहित सम्झौता भई सम्झौता रकमसमेत बुझाइसकेको अवस्थामा महोत्सव नै बन्द गर्नुपर्दा आयोजकले ठूलो घाटा व्यहोर्नुपरेको कार्यवाहक अध्यक्ष राईले बताए ।

प्रहरीले बन्द गरेको होइन– प्रहरी उपरीक्षक खड्का
आयोजक झापा उद्योग वाणिज्य संघले भर्खर सरुवा भएर आएकी प्रहरी उपरीक्षक बसुन्धरा खड्कामाथि दोष लगाइरहँदा उनले प्रहरीले महोत्सव बन्द नगराएको स्पष्ट पारेकी छन् । जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको समय सीमा राति ९ बजेसम्म महोत्सव संचालन गर्दा आफूहरुले कुनै अप्ठ्यारो नपारेको उनले बताइन् ।
‘ महोत्सव बन्द गर्ने काम प्रहरीले गरेको छैन ’ उनले प्रतिदिनसंग कुरा गर्दै भनिन् ‘ राति ९ बजेसम्म उहाँहरुले महोत्सव चलाउँदा कति सुरक्षाकर्मी चाहिन्छ ,हामी दिन तयार छौं ।’ उनले जिल्ला प्रशासन कार्यालयको आदेशलाई प्रहरीले कार्यान्वयन गरेको जानकारी दिइन् ।
तोकेको समयभन्दा पछाडि राति १२ बजेसम्म महोत्सव चलाउन खोज्दा प्रहरीले संचालन गर्न नदिएको एक प्रहरी अधिकृतले बताए । ती अधिकृतका अनुसार सिक्सर , हाउजीजस्ता जुवाजन्य खेलहरु खेलाउने प्रयास गर्दा प्रहरीले रोकेको हो । त्योसंगै महोत्सवमा होहल्ला र झैझगडा हुने गरेको स्थानीयबाट गुनासो आएको उनले बताए ।
माघ ७ गते उद्घाटन गरिएको यो महोत्सवमा १२० भन्दा बढी स्टल बनाइएको थियो । तर,आधाभन्दा बढी स्टलहरु खाली नै रहेका थिए । औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव भनिएको सो महोत्सवमा खासै आर्थिक कारोबार नै भएको थिएन । धान्न नसक्ने अबस्थामा पुगेपछि कलाकार र खेल तमासाबाट आयोजकले महोत्सव चलाउन खोजेको बताइन्छ ।



