झापा, माघ १७ । घरि झापा ३ मा एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले उम्मेदवारी फिर्ता लिएको हल्ला चल्छ , घरि दमकका मेयर राम थापाले झापा ५ मा एमालेलाई सघाउने अपवाह फैलिन्छ । यस्ता गतिविधिका कारण यस पटक चुनावी तालमेल नगरेर एक्लाएक्लै उम्मेदवारी दिएपनि एमाले र राप्रपालाई आ–आफ्नो मत जोगाउन कठिन देखिएको छ ।

लगातार १२ वर्षसम्म चुनावी तालमेल गर्दाको परिणाम अहिले दुवै पार्टीले भोगिरहेका छन् । हिजो तालमेलको सम्बन्ध बनाएका ती दुई दलबीच अहिले सम्बन्ध विच्छेद भएपनि पूर्व प्रेमीले जस्तै एकअर्कामाथि दावी गर्न छोडेका छैनन् ।
राप्रपाबाट दमक नगरपालिकाको मेयर जितेका राम थापाले एमाले अध्यक्ष केपी ओलीलाई सघाउने केही दिनअघि हल्ला चलाइयो । त्यसलाई चिर्न उनले विज्ञप्ति नै जारी गर्नु पर्यो ।“नेकपा एमाले झापा ५ प्रचार प्रसार समिति दमक र कमल ”नामको फेसबुक आइडीबाट मेरो नाम जोडेर गरेको दुष्प्रचारप्रति मेरो गम्भीर खेद प्रकट छ। मेरो आफ्नै पार्टी, चुनावचिन्ह र उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला भएको कुरा सबै दाजुभाइ दिदीबहिनीहरूमा जानकारी गराउँदछु ” उनले स्पष्ट पारेका छन् ।
झापा ५ मा यसपटक राप्रपाले आफ्नै उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलालाई उठाएको छ भने एमालेले झापा ३ मा हरिबहादुर राजवंशीलाई उम्मेदवार बनाएको छ । संग्रौला र राजवंशी ‘डमी’ उम्मेदवार मात्र भएको दावी गरिएको छ । चुनावी तालमेल नहुँदासमेत एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भित्री रुपमा ‘भोटको सौदावाजी’ हुनसक्ने शंका निवारण हुन सकेको छैन । जसका कारण दुवै पार्टीको मत बिग्रिन सक्ने देखिएको छ ।
यसपटक पनि झापा ५ र ३ मा ओली र लिङ्देनले जित हासिल गर्न अरुसंग तालमेल गर्नैपर्ने अबस्था रहेको विश्लेषण गरिएको छ । उनीहरुले २०७४ र २०७९ मा तालमेल गरेरै निर्वाचन जितेका थिए । दुवै जनाबीचको साँठगाठप्रति दुवै दलका कार्यकर्ता रुष्ट बनेका थिए ।
झापा ३ मा उम्मेदवारी दिएका एमालेका हरिबहादुर राजवंशीका बारेमा धेरै जिज्ञासा राख्ने गरिएको एमालेका क्षेत्र नं ३ का क्षेत्रीय सचिव नरेश चुडालले बताए । उनले आफूहरु राजवंशीलाई जिताउने गरी चुनावी कार्यक्रममा लागिपरेको जानकारी दिए ।



