मेचीनगर, माघ १८ । निर्माणाधीन अवस्थामा अलपत्र परेको सामुदायिक भवनसहितको कृषि संग्रहालयलाई पूर्णता दिने उद्देश्यले निन्दा कृषि सहकारी संस्थाले मेचीनगर १० मा महायज्ञ शुरु गरेको छ ।

आर्थिक अभावका कारण अलपत्र परेको सामुदायिक भवनसहितको ग्रामीण कृषि संग्रहालयलाई पूर्णता दिन श्रीमद् भागवत महापुराण धन–धान्याचल सप्ताह धार्मिक ज्ञान महायज्ञको आयोजना गरिएको हो ।

सो भवन सरस्वती टोलमा रहेको छ । त्यहाँ व्यवस्थापनमा समस्या आएपछि देवी टोलमा महायज्ञको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए । माघ १७ गते शनिबार औपचारिक रुपमा पुराणको प्रारम्भ गरिएको छ । उद्घाटनको दिन कलश यात्रा गरिएको थियो । पुराणस्थलबाट निन्दा नदीसम्म र नदीको पानी लिएर महायज्ञस्थलसम्म पुर्‍याइएको थियो ।

सामुदायिक भवनसहित कृषि संग्रहालय बनाउने उद्देश्यले स्थानीय सरस्वती टोलका अनिल पौडेलले २०७७ सालमा करिव २५ लाख मूल्य पर्ने १ कठ्ठा जग्गा संस्थालाई प्रदान गरेका थिए । पछि भवन निर्माणका लागि बाटो अभाव हुँदा डेढ कठ्ठा जमिन दिएर एकलौटी बाटो निर्माण गरिदिएका थिए ।

सामुदायिक भवन निर्माणसहित ग्रामीण कृषि संग्रहालय निर्माण गर्न समुदाय नै लागेपनि पूर्ण भने हुन पाएको थिएन । समन्वयकै आधारमा तत्कालीन सांसद राम कार्कीले संघीय सरकारबाट सात लाख रुपैयाँ उपलब्ध गराएका थिए । त्यसैगरी प्रदेश सरकारका सांसद श्री मैनालीले ५ लाख, मेचीनगर नगरपालिकाले ३ लाख २५ हजार रुपैयाँ बजेट दिएपछि भवन निर्माण सुरु भएको थियो । निर्माणाधीन अवस्थामै रकम अभाव भएपछि निन्दा कृषि सहकारी संस्था र सदस्यहरुबाट संकलित ४ लाख रकम समेत सो भवन निर्माणमा लगाइएको थियो । त्यसपछि कोभिड महामारीका कारण निर्माण कार्य रोकिएको थियो । निर्माणाधीन अवस्थामै अलपत्र परेको संरचनालाई पूर्णता दिन महायज्ञको आयोजना गरिएको जग्गादाता पौडेलले जानकारी दिए ।

कलश यात्रापछि आयोजित कार्यक्रममा मेचीनगर ९ का पूर्व वडाध्यक्ष गोपाल खड्काले सामुदायिक भवन र कृषि संग्रहालय स्थापना गर्ने महान उद्देश्य राखेर आयोजना गरिएको महायज्ञलाई सबैले सहयोग गर्न आग्रह गरेका छन् । आफूले पनि सक्ने सहयोग गर्ने खड्काले बचन दिएका छन् । माघ १७ देखि २५ गतेसम्म आयोजना हुने उक्त पुराणबाट भवन निर्माणका लागि १५ लाखबढी आर्थिक सहयोग संकलन हुने अपेक्षा गरिएको आयोजकको भनाई छ । महायज्ञमा प्रमुख कथावाचक पण्डित खगेन्द्रप्रसाद अधिकारी रहेका छन् ।

प्रकाश खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पुराण व्यवस्थापनका लागि १ सय १ सदस्यीय मूल समिति तथा तीन वटा उपसमिति बनाइएको जानकारी गराइएको थियो । उपसमितिअन्तर्गत जग्गादाता अनिल पौडेलको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ । त्यस्तै शिवशंकर शाहको संयोजकत्वमा प्रचारप्रसार समिति र विनोद कट्वालको संयोजकत्वमा यज्ञ तथा पण्डाल व्यवस्थापन समिति निर्माण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्