झापा, माघ १९ । झापामा सवारी दुर्घटनाबाट मानवीय क्षति हुने क्रम निकै बढेको छ । माघ महिनाको १९ दिनभित्र सवारी दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् ।

माघ १ गते एकैदिन तीनजनाले ज्यान गुमाएका थिए भने त्यसयता प्राय दिनहुँ दुर्घटनामा मृत्यु हुने गरेको छ । यसक्रममा गौरादहमा बेहुली लिएर फर्किदै गरेको जन्तीको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । सोमवार साँझ ७ः२० बजे गौरादह ४ रामचन्द्रे खोलाको पुलस्थित भित्री पक्की सडकखण्डमा गौरादहबाट स्कुलचौनतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ त.९७२० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पुलबाट खोलामा झरेको हो । दुर्घटनामा मोरङ रतुवामाई ८ बस्ने बर्ष ३८ की स्वस्तिका मर्डीको मृत्यु भएको हो । उनको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो ।
त्यस्तै झापा गाउँपालिका वडा न.२ सडकबारीस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्रीको मृत्यु भएको छ ।
पुष १६ गते दिउँसो ४;३५ बजे झापा गाउँपालिका वडा न.२ सडकबारीस्थित हुलाकी सडकखण्डमा गौरीगंजबाट झापा बजारतर्फ आउँदै गरेको प्र १–०२–०५४ प ९३९३ नं.को मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेको साइकलयात्री झापा गाउँपालिका वडा नं.२ सडकबारी बस्ने ७१ वर्षीय गणेशकुमार भण्डारीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकलयात्री भण्डारी , मोटसाइकल चालक बिराटनगर १४ बस्ने २८ वर्षीय हेमन्तकुमार साह र पछाडी सवार २६ वर्षीय धिरजकुमार साह घाइते भएका थिए ।तीनै जनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो ।साइकलयात्री गणेशकुमार भण्डारीको उपचारको क्रममा सोमवार विहान ७.१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल र मोटरसाइकल चालक साहलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै आइतवार साँझ भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका २ निवासी ६४ वर्षीय कुलप्रसाद खरेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ ६ः२० बजे मेची राजमार्गअन्तर्गत भद्रपुर– बनियानी सडकखण्डको भद्रपुर–२ स्थित सगरमाथा चोकमा बनियानीबाट भद्रपुरतर्फ आइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री खरेललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएका खरेललाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ निवासी २१ वर्षीय अनुराग घोषको अनुहारमा चोट लागेकोले गम्भीर अवस्थामा प्रादेशिक अस्पताल भद्रपुरमा पुर्याएको र त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार भद्रपुर–६ निवासी २१ वर्षीय मन्दिप दंगालको अवस्था सामान्य रहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यसको अघिल्लो राति बिर्तामोडमा भएको स्कुटी दुर्घटनामा चालकको मृत्यु भएको छ ।
राति ८;२५ बजे बिर्तामोड वडा न.७ खोपवारीस्थित भित्री पक्की सडकखण्डमा प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र.१–०१–०१३ प.९१९९ न.को स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको हो । दुर्घटनामा स्कुटी चालक बिर्तामोड वडा न.७ बस्ने ३५ वर्षीय सुभाष मादेन गंभीर घाइते भएका थिए ।
टाउकोमा चोट लागेका घाइते मादेनलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
त्यसको अघिल्लो राति मेची पुलको ब्यारीकेटमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
राति १० बजे मेचीनगर ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१२ प ३८४९ न.को मोटरसाइकल सडकमा राखिएको ब्यारीकेटमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर ६ बस्ने ३५ वर्षीय काशीनाथ पौडेल र पछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय चेतन कट्वाल घाइते भएका थिए । शरीरमा चोट लागेर गम्भीर घाइते भएका कट्वाललाई आम्दा अस्पताल धुलाबारी पठाएकोमा राति डाक्टरले मृत घोषणा गरेका छन् । घाइते मोटरसाइकल चालक पौडेललाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको प्रहरीले जनाएको छ ।
त्यस्तै माघ १४ गते मोटरसाइकल दुर्घटनामा घाइते बिर्तामोड ७ गरामनीकी कल्पना भण्डारीको मृत्यु भएको छ ।
तीन दिनअघि माघ ११ गते दिउँसो १ः३० बजे मेचीनगर ७ नमुना टोलस्थित भित्री सडकखण्डमा काँकरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको माटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ६३९४ न.को मोटरसाइकल चालक बिर्तामोड ७ बस्ने ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गंभीर घाइते भएकी थिइन् । टाउको र शरीरमा चोट लागेकी कल्पनालाई बीएण्डसी अस्पताल लगिएको थियो । माघ १४ गते बिहान १०ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । ४२६५ नं.को मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।
त्यस्तै माघ १० गते मोटरसाइकल दुर्घटनामा घाइते भएका बिर्तामोड–६ बस्ने १८ वर्षीय समर मुस्लिमको मृत्यु भएको छ ।
बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दिउँसो ३.३० बजे उनको मृत्यु भएको हो । गत पुष ३० गते साँझ ५ः३० बजे बिर्तामोड – ६ किरात चोकस्थित भित्री सडकखण्डमा बुट्टाबारीबाट किरात चोकतर्फ जाँदै गरेको मे २ प ६५७८ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मुस्लिम घाइते भएका थिए ।
त्यस्तै माघ ७ गते शिवसताक्षीमा गुडिरहेको ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ ।
साँझ ६ बजे शिवसताक्षी ६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी पक्की सडकखण्डमा बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्रयाक्टरबाट लडेर ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो ।
अचानक गुडिरहेको ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि आंम्दा अस्पताल दमक लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । ट्रयाक्टर चालक सोही ठाउँ बस्ने ३० वर्षीय नितेस घिमिरे र ट्रयाक्टर इलाका प्रहरी कार्यालय शिवगंजको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै माघ ६ गते बिर्तामोडको जात्रुवारीमा पिकअपको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।
दिउँसो १२ः५५ बजे बिर्तामोड ५ जात्रुबारीस्थित भित्री सडकखण्डमा रहेको किराना पसलमा सामान लोड गरी ब्याक गर्ने क्रममा मे१ज १८०४ न. को सामान बोक्ने पिकअप गाडीले पैदलयात्रु सोही ठाउँ बस्ने बर्ष ८१ की श्रीमाया लिम्बूलाई पिकअपको पछाडीको भागले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराउने क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको हो । पिकअप चालक बुद्धशान्ति ३ बस्ने बर्ष ३१ का हरिप्रसाद काफ्ले र पिकअप इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
त्यस्तै माघ ४ गते राति बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा एकजना युवतीको मृत्यु भएको छ ।
राति १०.५० बजे बिर्तामोडको अधुवा खोला पुलछेउ पूर्वपश्चिम राजमार्गमा लक्ष्मीपुरदेखि मुक्तिचौकतर्फ आउँदै गरेको प्र.१–०२–०४२ प.१९०४ न.को मोटरसाइकलले वानस्टप मलदेखि अधुवा खोलातर्फ जाँदै गरेको मे.१ ह.३७२१ न.को अटोलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक गौरादह वडा न.३ बस्ने बर्ष २४ का निरज कार्की र मोटरसाइकलमा पछाडी सवार दमक बस्ने बर्ष २२ की सुजाता बुढाथोकी घाइते भएका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी सुजातालाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा माघ ५ गते बिहान ४ बजे उनको मृत्यु भएको हो । दुवै सवारी साधन,अटो चालक अर्जुनधारा वडा न.६ बस्ने बर्ष ३४ का खेमराज खड्का र मोटरसाइकल चालक कार्कीलाई सामान्य उपचारपश्चात् नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै माघ २ गते राति बिर्तामोड – भद्रपुर सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
राति ८.१५ बजे बिर्तामोड ८ हर्चना टोलस्थित सडकखण्डमा सैनिकमोडबाट भद्रपुरतर्फ जादै गरेको प्र१–०१–०१४ प ५११९ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भद्रपुर ७ बस्ने बर्ष ३६ का सुदिर निरौला गम्भीर घाइते भएका थिए ।
घाइतेलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याईएकोमा उपचारको क्रममा राति ९ः१५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माघे संक्रान्तिका दिन झापामा १० वटा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए ।
बिहान ९.३० बजे कन्काई माई मेला जाँदै गरेको मे १ च ४५१५ न. को पिकअप (मालबाहक) गाडी दुर्घटनामा परेको हो । पूर्वबाट जाँदै गरेको सो पिकअपलाई कनकाई – ३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ न. को बसले ठक्कर दिएको थियो । दुर्घटनामा पिकअपमा सवार आमा छोरीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । भद्रपुर ८ बस्ने आफुद राजवंशीकी श्रीमती ४० वर्षीया सुस्मा राजवंशी र उनकी छोरी डेढ वर्षीया आरुती राजवंशीको मृत्यु भएको हो ।
सोही दिन साँझ ७ः५० बजे बिर्तामोड – ५ सिटीसेन्टरस्थित पूर्वपश्चिम लोकमार्गमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमानको मृत्यु भएको थियो भने श्रीमती घाइते भएकी थिइन् । बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ न. को ट्रक र बिपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको (जलेर) मोटरसाइकल एक आपसमा ठक्कर खाएका थिए । मोटरसाइकल चालक हल्दिवारी ४ बस्ने बर्ष ३२ का खगेन्द्र मगरको मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती बर्ष २५ की सुकमाया तामाङ गंभीर घाइते थिइन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् मोटरसाइकलमा आफै आगलागी भई मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।



