झापा, माघ २० । बिर्तामोडका दुई युवा नेता बलराम कार्की र अर्जुन मैनाली राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कार्कीले सामाजिक संजालमा आजका मितिदेखि नेपाली कांग्रेसको जिल्ला सदस्यसहित साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका छन् ।

त्यस्तै नेकपा एमालेका युवा नेता तथा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान महासचिवसमेत रहेका अर्जुन मैनालीले पनि एमाले पार्टी परित्याग गर्दै रास्वपामा प्रवेश गरेका छन् । मैनालीले आज सामाजिक सञ्जालमार्फत रास्वपा नेता बालेन शाह तथा स्थानीय रास्वपा नेताहरूसँगको फोटो सार्वजनिक गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन्।

उनले सार्वजनिक गरेको वक्तव्यमा आजदेखि एमाले परित्याग गरेको उल्लेख गरेका छन्। एमालेमा रहँदा सहयोग गर्ने आदरणीय नेतागण, सहयात्री साथीहरू तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै आजकै मितिदेखि आफू रास्वपा पार्टीमा आबद्ध भएको जानकारी गराएका छन्।

कांग्रेसबाट कार्की र एमालेबाट मैनालीको रास्वपा प्रवेशलाई झापा क्षेत्र नं २ को राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय युवाहरूको बढ्दो आकर्षण रास्वपातर्फ देखिँदै गएको सन्दर्भमा यो घटनाले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ। मैनालीसंगै एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ छाड्नेको लर्को लाग्न थालेको छ । हिजो भद्रपुरमा विभिन्न पार्टी परित्याग गरि १५० जना रास्वपामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्