झापा, माघ २० । सातौं झापा गोल्डकपको उद्घाटनका दिन जग्गादाता डोमालाल राजवंशीको सालिक अनावरण गरिने भएको छ ।

जग्गादाता डोमालालको सालिक

करिव दुई वर्षदेखि गोल्डकपको सचिवालयमा अलपत्र परेको डोमालाल राजवंशीको अर्धकदको सालिकलाई यही माघ २४ गते गोल्डकपको उद्घाटनका दिन डोमालाल राजवंशी रंगशालामा अनावरण गरिने भएको हो ।

गोल्डकपका तत्कालीन अध्यक्ष स्वर्गीय विनोद बस्नेतले सो सालिक भारतबाट निर्माण गरेर ल्याएका थिए । बस्नेतको निधनपछि डोमालालको सालिक स्थापित गर्ने र असहाय विपन्न डोमालालकी छोरी सम्पत्ति राजवंशीको घर बनाइदिने योजना अलपत्र परेको थियो । जसलाई लिएर राजवंशी समुदायले गुनासो गर्दै आएका थिए ।

सोही विषयलाई लिएर हिजो गोल्डकपका अध्यक्ष केदार गिरी , वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेल , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , राजवंशी समाज विकास समिति बिर्तामोडका अध्यक्ष सुमन राजवंशी , मोरङका जिल्ला सचिव रुपेश राजवंशी,राजवंशी विकास प्रतिष्ठानका सचिव झलकसिंह राजवंशीबीच छलफल भएको थियो । छलफलमा जग्गा विवादका कारण डोमालाल राजवंशी रंगशाला सार्नुपर्ने अबस्था रहेकोले तत्कालका लागि अस्थायी रुपमै भएपनि सालिकलाई अनावरण गरी राजवंशी समुदायको माग संबोधन गर्ने मौखिक सहमति भएको छ । स्टेजको अगाडिपट्टि सो सालिक राखिने भएको हो । जग्गा विवादका कारण रंगशाला सार्नुपर्ने अबस्था आउँदा सालिक भत्काउनु पर्छ भनेर आफूहरुले सालिकलाई स्थापित नगरेको बताउँदै अध्यक्ष गिरीले तत्कालका लागि अस्थायी रुपमा राख्ने र पछि जग्गाको टुंगो लागिसकेपछि स्थायी र दीगो रुपमा सालिक पुनर्स्थापित गरिने जानकारी दिए ।

डोमालालकी छोरीको घर

त्यस्तै पूर्व अध्यक्ष स्व. बिनोद बस्नेतको सपना साकार पार्न गोल्डकपपछि डोमालाल राजवंशीकी छोरी सम्पत्तिको घर बनाइदिने अध्यक्ष गिरीले जानकारी दिए । स्व. बस्नेतले घर बनाइदिनका लागि सामाजिक संजालमार्फत आर्थिक संकलन अभियान शुरु गरेका थिए । त्यस अभियानलाई निरन्तरता दिने गिरीको भनाई छ ।

छैठौं संस्करणको झापा गोल्डकप सम्पन्न गर्नेबित्तिकै अध्यक्ष बस्नेत डोमालालको सालिक र घर निर्माण गरिदिने अभियानमा लागेका थिए ।

स्व. डोमालालका सन्तानका लागि बस्नेतले आफैबाट आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए । जग्गादाता राजवंशी परिवारको घर बनाउनका लागि अध्यक्ष बस्नेत स्वयंले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । त्यसपछि त्यस मानवीय कामका लागि अन्य धेरै सहयोगी मनहरुले स्वतःस्फूर्त सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । डोमालाल राजवंशीको घरको लागि दाताहरुले १० लाखभन्दा बढी सहयोग गर्ने बचन दिएका थिए । बस्नेतकै पहलमा छैटौ गोल्डकपको उद्घाटनका दिन डोमालालको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको थियोे । यस वर्ष २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएकोमा त्यसमा थप्ने प्रयास भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।

सालिक स्थापित गर्न रंगशालामा ठाउँ हेर्दै

डोमालाल राजवंशीले रंगशाला भएको ठाउँमा करिव १३ विगाह जग्गा दान दिएका थिए । अहिले भूमिहीन बनेका डोमालालकी छोरी सम्पत्ति , नातिहरु भीम र छवि राजवंशी रंगशालाको पश्चिमपट्टि झुप्रो बनाएर बसेका छन् । उनीहरुले मजदुरी गरी गुजारा गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्