बिर्तामोड, माघ २१ । नेपाली कांग्रेस झापाले पार्टीका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा निर्वाचन परिचालन, अनुगमन तथा मूल्याङ्कन समिति र पार्टीका कार्यबाहक सभापति शेरबहादुर भट्टराईको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ ।

नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराईको सभापतित्वमा बुधवार सम्पन्न पदाधिकारीको बैठकले समिति गठन गरेको हो । निर्वाचन परिचालन, अनुगमन तथा मूल्याङ्कन समितिमा पार्टीका केन्द्रीय, पूर्व केन्द्रीय सदस्य, कोशी प्रदेश समितिका पदाधिकारी, सदस्य, सांसद–पूर्व सांसद, जिल्ला कार्यसमितिका पदाधिकारी, पार्टीका पूर्व पदाधिकारीहरु सदस्य रहने छन् ।
यसैगरी कार्यबाहक सभापति भट्टराईको संयोजकत्वमा गठित जिल्लास्तरीय निर्वाचन प्रचारप्रसार समितिमा पार्टीका केन्द्रीय, पूर्व केन्द्रीय सदस्य, कोशी प्रदेश समितिका पदाधिकारी, सदस्य, सांसद–पूर्व सांसद, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, पार्टीका पूर्व पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय समितिका पदाधिकारी सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय/कोशी प्रदेश पदाधिकारी/सदस्यहरु र जिल्ला कार्यसमितिका अध्यक्षहरु सदस्य रहनेछन् । यसैगरी गाउँ/नगर समितिका पदाधिकारी, वडा सभापतिहरु सदस्य रहनेछन् ।
यसैबीच नेपाली कांग्रेसमा आबद्ध भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले पार्टीका उम्मेद्वारलाई विजयी गराउन आ–आफ्नो क्षेत्रबाट निर्वाचन प्रचार–प्रसारलाई तीब्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेस झापाको संयोजनमा सम्पन्न भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका केन्द्रीय पदाधिकारी/सदस्य एवं जिल्ला पदाधिकारीहरुको भेलाका सहभागीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका केन्द्रीय पदाधिकारी/सदस्य एवं जिल्ला पदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति शेरबहादुर भट्टराईले नेपाली कांग्रेसले आफूलाई समयानुकूल परिवर्तन गरेर निर्वाचनमा होमिएको बताउँदै नीति, नेतृत्वसँगै अधिकांश नयाँ अनुहारलाई उम्मेद्वार बनाएको जानकारी गराए । सामाजिक सञ्जाल लगायतका भ्रामक प्रचारको भ्रममा नपर्न र संगठनबाट विचलित नभई इमान्दार रुपमा निर्वाचन परिचालनमा खटिन सम्पूर्ण कार्यकर्तालाई आह्वान गरे ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले सहजीकरण गरेको कार्यक्रममा दिपक तामाङ, उर्मिला पोखरेल ढकाल, यज्ञप्रताप अधिकारी, टिका सिटौला मैनाली, ज्ञानेन्द्र निरौला, रतन थिङलावो, दिलकुमार नेम्बाङ, लक्ष्मीप्रसाद शिवाकोटी, गिरिराज भट्टराई, राजेन्द्र गौतम, टेकनाथ उप्रेती, विरबहादुर दर्नाल, गोकुल पौडेल, मनोज धिताल, लक्ष्मीप्रसाद दाहाल, राजकुमार ठाकुर, राजेन्द्रप्रसाद ओली, कुमार सिलवाललगायतले आ–आफ्ना प्रतिबद्धता राखेका थिए । भेलामा नेपाली कांग्रेस झापा सचिव नवीन विमली र सहसचिव कमलप्रसाद भण्डारीले सहभागीहरुले दिएका सुझाव टिपोट गरेका थिए ।
नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–१ मा केशवराज पाण्डे, २ मा सरिता प्रसाई, ३ मा राजेन्द्रकुमार घिमिरे, ४ मा देउकुमार थेवे, ५ मा मन्धरा चिमरिया पौडेल प्रत्यक्षतर्फ उम्मेद्वार छन् । यसैगरी समानुपातिकतर्फ सुशिला ढकाल आचार्य, गोमाकुमारी भट्टराई, उमा शिवाकोटी, राधा कार्की, सत्यनारायण चौधरी, मनुमाया विश्वकर्मा र रिना उप्रेती समानुपातिक उम्मेद्वार छन् ।



