झापा, माघ २२ । सार्वजनिक स्थानहरुमा पटक पटक बम बिष्फोट गराएर आतंक फैलाउँदै आएका संजय भनिने खगेन्द्र खरेल जेल चलान भएका छन् ।

बिष्फोटक पदार्थ कसुर मुद्दामा म्याद थप भई इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा रहेका दमक १ बस्ने ४६ वर्षीय खरेललाइ जिल्ला अदालत झापाको हिजोको आदेशले पुर्पक्षको लागि झुम्का कारागार सुनसरी चलान गरिएको हो । सार्वजनिक स्थानहरुमा पटक पटक बम बिष्फोट गराएर आतंक फैलाउँदै आएका खरेल चौथो पटक पक्राउ परेका थिए ।
गत पुष १९ गते झापाको कन्काई ४ स्थित कन्काई पुल छेउमा प्रेसर कुकर बम राखेर आतंक सिर्जना गर्ने खरेललाई पुष २४ गते प्रहरीले पक्राउ गरेको थियो ।
सनातन सुरक्षा सेना, नेपालका संयोजक संजय भन्ने खरेललाई कन्काई नगरपालिकाको लक्ष्मीपुरमा रहेको साथीको घरमा लुकिछिपि बसिरहेको अवस्थामा बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
२०७६ सालमा गोर्खा जन्मुक्ति पार्टी, २०७८ सालमा हिमाल सुरक्षा परिषद, २०८२ सालमा सनातन सुरक्षा सेना, नेपाल पार्टीजस्ता संगठनको नाममा आतंक सिर्जना गरी उनले अबैध गतिविधि गरि शान्ति सुरक्षामा खलल पुर्याउने काम गर्दै आएका थिए । उनी झुम्का कारागारबाट फरार कैदी हुन् । जेनजी आन्दोलनका बेला भदौ २४ गते उनी कारागारबाट फरार भएका थिए ।
यसअघि पनि खरेलले कन्काई पुलमा बम राखेर आतंक फैलाएका थिए । उनले २०७६ बैशाख ३० गते कन्काई नदीको पुलको रोड डिभाइडरमा कालो प्लाष्टिकमा बिष्फोटक पदार्थ राखेका थिए । त्यसको ९ महिनापछि २०७६ माघ ९ गते बिर्तामोड नगरपालिकाको पश्चिम स्टेण्डमा शंकास्पद वस्तु (होक्स) राखी शान्ति सुरक्षामा खलल पुर्याएका थिए ।
त्यस्तै २०७८ माघ १३ गते दमक नगरपालिका ५ स्थित शिवान चर्चमा शंकास्पद वस्तु (होक्स) राखेर अशान्ति मच्चाएका थिए । खरेलले झापामा मात्र नभएर पूर्वका अन्य स्थानहरुमा त्यस किसिमको आतंककारी गतिविधि गरेका थिए । २०७८ चैत १४ गते सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं.२ स्थित एक घरमा बम बिष्फोट गराएका थिए । इटहरी–२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजंग गुरुङ घाइते भएका थिए । त्यसबेला बिष्फोटक पदार्थसम्बन्धी कसूरमा पक्राउ परी उनले सजाय पाएका थिए । त्यस बखत उनी हिमाल सुरक्षा परिषद नेपालको अध्यक्ष भई सशस्त्र गतिविधिमा संलग्न रहेका थिए ।
त्यस्तै २०८१ फागुन १३ गते इटहरी उपमहानगरपालिकाअन्तर्गत भोटेपुल र उपमहानगरपालिका अगाडि पान दोकान छेउमा कालो ब्यागभित्र कुकुर बम राखेर उनी फरार भएका थिए । खोजतलासका क्रममा प्रहरीले उनीसहित दुईजनालाई पक्राउ गरेको थियो । बिष्फोटक पदार्थसम्बन्धी कसूरमा उनी झुम्का कारागार चलान भएका थिए ।



